७ चैत्र २०८२, शनिबार

अर्थमन्त्रीद्वारा भद्रपुर भन्सारको उद्घाटन


youbaraj

१९ भदौ, भद्रपुर । अर्थमन्त्री डा. युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताउनुभएको छ । आज भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो मुलुकसँग बिजुलीको व्यापार गरेर अन्तर्राष्ट्रियस्तरको नाका बनाउन सकिने बताउनुभएको हो ।

बङ्गलादेशसँग नेपालको विद्युत् व्यापार सम्झौता भइसकेको बताउँदै उहाँले भन्नुभयो, “नेपालसँग विद्युत् किन्न बङ्गलादेश तयार छ तर भारत सरकारको सहयोग पनि आवश्यक रहेको छ ।” उहाँले भारत सरकारको सहयोग लिएर नेपालले तेस्रो देशलाई विद्युत् बेच्न सक्यो भने वस्तुको मात्र होइन यो नाकाबाट सेवाको व्यापार पनि गर्न सकिने बताउनुभयो ।

मन्त्री डा. खतिवडाले छिमेकी देश भारतसँग पनि यो नाकालाई सुचारु र समृद्ध बनाउनका लागि छलफल र वार्ता गर्ने बताउनुभयो । उहाँले भद्रपुर भन्सारलाई सक्रिय र व्यस्त नाकाका रुपमा स्थापित गर्नका लागि सबैको सहयोगको खाँचो रहेको औँल्याउनुभयो ।

मेची भन्सार कार्यालयको मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालयले साउन १ गतेदेखि स्तरोन्नति भई भन्सार कार्यालयको दर्जा पाएको हो । भद्रपुर भन्सार कार्यालय सञ्चालनमा आएसँगै झापामा दुईवटा भन्सार कार्यालय भएका छन् ।

कार्यक्रममा भारतको विहार र बङ्गाल राज्य, बङ्गालदेशसहित भुटानसँगको दूरी कम रहेको भद्रपुर भन्सार कार्यालयको पूर्वाधार निर्माणका लागि १० बिघा जमीनको आवश्यकता रहेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !