११ मंसिर २०८३, शुक्रबार

ईपीजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्री समक्ष पेस हुने अपेक्षा छ : परराष्ट्र मन्त्रालय


लोकबहादुर पौडेल क्षेत्री

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन नेपाल र भारत दुवै देशका प्रधानमन्त्री समक्ष पेस हुने अपेक्षा गरिएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त कुरा बताएका हुन् । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले गत सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजी पुरानो भएको र यसको औचित्य सकिएको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि परराष्ट्रले शुक्रबार मुख खोलेको हो ।

ईपीजीसम्बन्धी विषयलाई परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्पष्ट पारेको उनले जनाए ।

२०७५ सालमा तयार भएको ईपीजी प्रतिवेदन भारतका प्रधानमन्त्रीले बुझ्न मानेका छैनन् । लामो समयसम्म प्रतिवेदन बुझ्न नमानेपछि ईपीजीमा नेपालतर्फका संयोजक भेषबहादुर थापाले २०८३ जेठ २१ गते ईपीजी प्रतिवेदन राखेको दराजको साँचो परराष्ट्रमन्त्री खनाललाई बुझाएका थिए ।

ईपीजी प्रतिवेदन तयार पार्दा प्रतिवेदन पहिला भारतका प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न नमान्दा अहिले यो प्रतिवेदन दराजमा थन्किएर बसेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !