११ मंसिर २०८३, शुक्रबार

सबै महानगरका प्रमुख तथा उपप्रमुखको मर्यादाक्रम समान बनाउन माग


यज्ञमणि न्यौपाने

काठमाडौं । सांसद यज्ञमणि न्यौपानेले सबै महानगरका प्रमुख र उपप्रमुखको मर्यादाक्रम समान बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै रास्वपा सांसद न्यौपानेले संविधानको धारा २१४ र २१६ ले स्थानीय तहको कार्यकारिणी संरचना तथा नगर कार्यपालिकाका प्रमुख र उपप्रमुखको संवैधानिक हैसियत स्पष्ट परेको उल्लेख गरेका छन् ।

संविधानको उक्त व्यवस्था विपरीत हुने गरी बनाइएको राष्ट्रिय मर्यादाक्रमले महानगरपालिकाका प्रमुख र उपप्रमुखको मर्यादाक्रममा भेदभाव गरेको उल्लेख गरेका छन्।

नेपाल राजपत्रमा प्रकाशित राष्ट्रिय मर्यादाक्रम अनुसार काठमाडौं महानगरपालिकाका प्रमुखलाई दशौँ मर्यादाक्रममा राखिएको छ भने काठमाडौं महानगरपालिकाबाहेकका अन्य महानगरपालिकाका प्रमुखलाई एघारौँ मर्यादाक्रममा राखिएको छ । काठमाडौं महानगरका उपप्रमुखलाई तेह्रौँ मर्यादाक्रममा राखिएकोमा अन्य महानगरका उपप्रमुखलाई सोह्रौँ मर्यादाक्रममा राखेर विभेद गरिएको उनको भनाइ छ ।

समान निर्वाचन प्रक्रिया, पदीय हैसियत, कार्यकाल, स्थानीय कार्यपालिकामा रहने भूमिका तथा जनताप्रतिको उत्तरदायित्व भए पनि काठमाडौं महानगरका प्रमुख वा उपप्रमुखलाई उच्च मर्यादाक्रममा राखिनु संवैधानिक वा कानुनी व्यवस्था नभएको उनको दाबी छ ।

अहिलेको मर्यादाक्रमले राजधानीबाहिरका महानगरपालिकाका नागरिकको मत, सहभागिता र लोकतान्त्रिक अधिकारलाई औपचारिक मर्यादाक्रममा समेत तुलनात्मक रूपमा तल्लो स्थानमा राखेको उनको भनाइ छ । विद्यमान व्यवस्थाले समानताको संवैधानिक भावना र संघीयताको सहअस्तित्वमूलक मान्यतामाथि प्रश्न उठाएको जिकिर गर्दै मर्यादाक्रम समान बनाउन माग गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !