काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रेमिका सिम्रन खड्कासँग थाइल्यान्डमा एक समारोहबीच विवाह गरेका हुन् ।
पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत सिमरन खड्कासँग विवाह गरेको जानकारी दिएका हुन्। ‘सपना निर्माण गर्ने सहयात्रीबाट जीवनभरको सहयात्रीसम्म। अनन्त यात्राका लागि शुभकामना,’ पौडेलले लेखेका छन्।
रोहितको विवाह समारोहमा सहभागी हुन राष्ट्रिय टोलीका खेलाडीहरू पनि थाइल्यान्ड पुगेका थिए । परिवारका सदस्य र निकट साथीभाइको उपस्थितिमा उनीहरूको विवाह समारोह थाइल्यान्डको रायोङको रायोङ मेरियट होटलमा सम्पन्न भएको हो।
कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा लगायतका खेलाडी विवाह समारोहमा सहभागी भएका थिए । पौडेलले हालै नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा आफ्नो कप्तानीमा लुम्बिनी लायन्सलाई पुर्याएका थिए ।















