काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी आनि डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।
राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामा प्रश्न उठाउँदै अभियानले रिट दर्ता गरेको हो ।
रिटमा सर्वोच्चले बुधबारका लागि पेसी तोकिदिएको छ । रिटमा आनि छोइङ डोल्माको नियुक्ति सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड २०७१ बमोजिमको योग्यता नपुगेको दाबी गरिएको छ । मन्त्रिपरिषद्ले गत असोज ३० गते आनि छोइङ डोल्लमालाई कोषको उपाध्यक्ष नियुक्त गरेको थियो । उनले मंसिर २ मा पदबहाली गरिसकेकी छन् ।














