काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको राष्ट्रिय हित, जनताका समस्या समाधानमा पार्टीले एकता कायम राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई राष्ट्रियता र जनताका सरोकारका विषयमा स्पष्ट दृष्टिकोणसहित सक्रिय हुन आग्रह गरे ।
उहाँले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षबाट पछि हट्न नहुनेमा जोड दिए । उपाध्यक्ष थापाले आशन्न स्थानीय तह, प्रदेशसभालगायतका निर्वाचनमा जनतासँग प्रत्यक्ष मितेरी गाँस्नुपर्छ भने ।
केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरेको र सही निष्कर्ष निकालेको उल्लेख गर्दै दृढतापूर्वक कार्यान्वयन जरुरी रहेको बताए । भेलामा तीन हजार ४१४ जना नेता तथा कार्यकर्ता सहभागी छन् । स्थानीय तह निर्वाचनको तयारी, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढीकरण र राष्ट्रिय राजनीतिक परिस्थितिबारे साझा दृष्टिकोण निर्माण गर्न भेला आयोजना गरिएको हो ।
भेला सकिएलगत्तै आजै साँझ पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम रहेको प्रचार विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।














