काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । आफूलाई गैरकानूनी रूपमा आईजिपीबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्चमा पेश गरेको रिट निवेदन दर्ता भएको हो ।
उनले हिजो बिहीबार वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिट शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । बिहीबार ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ बताइएको थियो ।
सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार रिट पेस गरेका थिए । सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी कार्कीको माग छ ।
सरकारले एआईजी रहेका डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको छ । सरकारको निर्णय रोकी पूर्ववत् रूपमा पुनर्बहाली गर्न कार्कीको सर्वोच्चसमक्ष माग छ । सरकारले निवर्तमान आईजीपी कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।












