रसुवा । समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड प्रकृति, धर्म र संस्कृतिको अनुपम सङ्गम हो । चारैतिर हरियाली वन, पृष्ठभूमिमा उभिएका हिमशृङ्खला र बीचमा शान्त भएर बसेको पवित्र जलाशय ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र यो स्थल प्राकृतिक सौन्दर्य र सांस्कृतिक वैभवले पनि उत्तिकै सम्पन्न छ । तर, यति धेरै सम्भावना बोकेको पार्वतीकुण्ड अझै राष्ट्रिय पर्यटनको नक्सामा अपेक्षित रूपमा चिनिन सकेको छैन । आवश्यक पूर्वाधार र प्रभावकारी प्रचारप्रसारको अभावमा यो हिमाली तीर्थ ओझेलमा छ ।
आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङको शिरमा रहेको पार्वतीकुण्ड धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेको गन्तव्य हो । स्थानीय तामाङ भाषामा पार्वतीलाई ‘आमा’ र ताललाई ‘छोदिङ्मो’ भनिन्छ । यही मौलिक भाषिक तथा सांस्कृतिक पहिचानलाई सम्मान गर्दै गाउँपालिकाको नामसमेत आमाछोदिङ्मो राखिएको हो ।
कुनै समय ‘कालो छाना भएको गाउँ’का रूपमा परिचित गत्लाङको उत्तरतर्फ अवस्थित यही कुण्डका नामबाट सुरुमा गाउँपालिकाको नाम पार्वतीकुण्ड राखिएको थियो । पछि स्थानीय भाषा र पहिचानलाई प्राथमिकता दिँदै पहिलो निर्वाचित गाउँसभाको सिफारिसमा नाम परिवर्तन गरी आमाछोदिङ्मो कायम गरिएको थियो ।
गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङका अनुसार पार्वतीकुण्ड प्राकृतिक सौन्दर्यको अनुपम उपहार मात्र होइन, हिन्दू र बौद्ध धर्मावलम्बीको ऐतिहासिक तथा धार्मिक धरोहर पनि हो । यहाँ अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने पर्याप्त सम्भावना रहेको उनको भनाइ छ ।
“यहाँ अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने प्रचुर सम्भावना छ । तर, आवश्यक भौतिक पूर्वाधार र राष्ट्रियस्तरमा प्रचारप्रसार हुन नसक्दा यो क्षेत्र अझै ओझेलमा छ”, उनले भनिन्, “गाउँपालिकाले संरक्षण र स्थानीयस्तरमा प्रवर्द्धनका प्रयास गरिरहेको छ । यसको समग्र विकासका लागि सङ्घीय तथा प्रदेश सरकारको विशेष बजेट र रणनीतिक योजनाको आवश्यकता छ ।”
आस्था र किंवदन्तीको संगम
पार्वतीकुण्डको उत्पत्ति र महत्त्वबारे हिन्दू तथा बौद्ध धर्ममा आआफ्नै धार्मिक आख्यान प्रचलित छन् । हिन्दू धार्मिक किंवदन्तीअनुसार यसको सम्बन्ध गोसाइँकुण्डको उत्पत्तिसँग जोडिन्छ ।
समुद्र मन्थनका क्रममा निस्किएको हलाहल विषको डाह शान्त पार्न भगवान् शिवले नीलकण्ठ बनेर गोसाइँकुण्डको सिर्जना गरेको धार्मिक विश्वास छ । शिवको खोजीमा माता पार्वती यसै स्थानमा विराजमान भएको स्थानीय जनश्रुति छ । यही विश्वासका आधारमा पार्वतीकुण्डलाई पवित्र तीर्थस्थलका रूपमा पुजिँदै आएको छ । यहाँ स्नान गरे मोक्ष प्राप्त हुने जनविश्वास छ । मानसरोवरको तीर्थयात्रा गरेर फर्कने भारतीय तीर्थयात्रीसमेत यहाँ स्नान गर्न आउने गरेका छन् । भारतको हिमाञ्चलस्थित प्रसिद्ध धार्मिकस्थल छोपेमासँग पनि यस कुण्डको पौराणिक सम्बन्ध रहेको विश्वास गरिन्छ ।
बौद्ध धर्मावलम्बीका लागि पनि यो क्षेत्र उत्तिकै महत्त्वपूर्ण छ । गुरु पद्मसम्भव अर्थात् गुरु रिम्पोछेले मानव समुदायको सुख, शान्ति र मुक्तिका लागि यस हिमाली क्षेत्रमा तपस्या गरेको धार्मिक विश्वास छ । तपस्याका क्रममा स्नानका लागि आवश्यक पवित्र जल यहाँका विभिन्न जलाशयमध्ये पार्वतीकुण्डमा सबैभन्दा शुद्ध रहेको विश्वास रहेको स्थानीय अविनाश तामाङ बताउँछन् ।
यसरी एउटै जलाशय हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको आस्थासँग जोडिनुले पार्वतीकुण्डको धार्मिक विशिष्टता झल्काउँछ ।
हिमालको दृश्य र तामाङ संस्कृतिको वैभव
स्थानीय फुर्पुसिङ्गी तामाङका अनुसार पार्वतीकुण्ड धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्य र तामाङ सम्पदाले भरिपूर्ण क्षेत्र पनि हो । यो प्रसिद्ध तामाङ सम्पदा मार्गमा पर्दछ । यहाँ आउने पर्यटकले तामाङ समुदायको संस्कृति, परम्परागत वेशभूषा, खानपान र रैथाने जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसर पाउँछन् ।
कुण्ड वरपरका गुराँस, खस्रु, लालीगुराँस र अन्य प्रजातिका रूखले यहाँको वातावरणलाई थप शान्त र मनमोहक बनाएका छन् । वनस्पति, हिमाली हावा र प्राकृतिक शान्तिको अनुभव लिन चाहनेका लागि यो क्षेत्र आकर्षक गन्तव्य बन्न सक्छ ।
कुण्डनजिकै रहेको प्राकृतिक दृश्यावलोकनस्थल ‘ज्यार्सा भ्यूप्वाइन्ट’ यहाँको अर्को आकर्षण हो । त्यहाँबाट लाङटाङ, गणेश, मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण र जुगुलगायत हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । मौसम सफा भएका बेला चीनतर्फका हिमाल, काठमाडौँ उपत्यकाको केही भाग र त्रिशूली नदीको दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।
पार्वतीकुण्डभन्दा माथिल्लो भागमा रहेको दूधकुण्डलाई स्थानीय धार्मिक मान्यताअनुसार पार्वतीकुण्डको दिदीका रूपमा लिइन्छ । यस क्षेत्रको ऐतिहासिक महत्त्व बोकेको प्राचीन ‘बोङ्जो घले दरबार’को भग्नावशेष, पार्वती मन्दिर र नेपाली सेनाको ब्यारेक पनि आसपासमै छन् ।
सान्जेन खर्क, सान्जेन हिमाल, गणेश हिमाल, सोमदाङ हुँदै धादिङका विभिन्न बस्ती पुग्ने पदमार्गका रूपमा समेत यो क्षेत्र परिचित छ । यसले पार्वतीकुण्डलाई धार्मिक तीर्थस्थलसँगै पदयात्रा र हिमाली पर्यटनको सम्भावनायुक्त गन्तव्य बनाएको छ ।
संस्कृति नै पर्यटनको अर्को आकर्षण
पार्वतीकुण्ड क्षेत्र विकास समितिले पर्यटक आकर्षित गर्न स्थानीय तामाङ समुदायको मौलिक सांस्कृतिक झाँकी प्रस्तुत गर्दै आएको छ । म्हेन्दोमाया, सेलो र अन्य परम्परागत नृत्यले यहाँ पुग्ने पर्यटकलाई स्थानीय संस्कृति र जीवनशैलीसँग परिचित गराउँछन् ।
धार्मिक आख्यान, प्राकृतिक सम्पदा, हिमाली दृश्य र जीवन्त तामाङ संस्कृतिलाई एकै ठाउँमा अनुभव गर्न सकिने भएकाले पार्वतीकुण्डमा धार्मिक तथा सांस्कृतिक पर्यटनको विशिष्ट सम्भावना छ । तर, त्यसअनुसार पर्यटकीय पूर्वाधारको विकास र प्रचारप्रसार हुन सकेको छैन ।
स्थानीयको अपेक्षा छ, पार्वतीकुण्डको धार्मिक महत्त्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन सकियोस्, पदमार्ग व्यवस्थित बनोस्, पर्यटकका लागि आवश्यक आवास, खानेपानी, शौचालय र सूचना केन्द्रको व्यवस्था होस् । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै योजनाबद्ध पर्यटन विकास गर्न सके यस क्षेत्रलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने उनीहरूको विश्वास छ । त्यसबाट स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना र गाउँवासीको आर्थिक जीवनस्तर सुधारमा समेत योगदान पुग्नेछ ।
तर, गत भदौ १० गतेको भोटेकोशी बाढीले सडक सञ्जालमा क्षति पुर्याएपछि यो क्षेत्रको पहुँच थप प्रभावित भएको छ । सडक सम्पर्कमा आएको अवरोधले पर्यटकको आवागमन र स्थानीय पर्यटन व्यवसायमा समेत असर पारेको छ ।
प्रकृतिले सौन्दर्य दिएको छ, इतिहासले पहिचान दिएको छ, धर्मले आस्थाको केन्द्र बनाएको छ र संस्कृतिले आफ्नै मौलिकता दिएको छ । अब पार्वतीकुण्डलाई चाहिएको छ– व्यवस्थित पूर्वाधार, संरक्षणको प्रतिबद्धता र देशविदेशसम्म पुग्ने प्रचारको उज्यालो । सम्भावनाले भरिएको यो हिमाली तीर्थ कहिलेसम्म ओझेलमा रहने भन्ने प्रश्नको जवाफ राज्यको पर्यटन नीति र लगानीले दिनुपर्नेछ ।












