काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको प्रगाढ सम्बन्धले नेपाल र जापानबिचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाएको बताएका छन् । साउथ एसिया फेडेरेसन अफ जापनिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटन सत्रलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले शिक्षामार्फत स्थापित सम्बन्ध नै दुई देशबिचको सबैभन्दा दिगो र भरपर्दो आधारशिला भएको उल्लेख गरे ।
नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको सन्दर्भ जोड्दै मन्त्री खनालले दुई देशबिचको सम्बन्ध औपचारिक कूटनीतिभन्दा धेरै पुरानो रहेको स्मरण गरे । सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाइ कावागुचीको नेपाल आगमन र सन् १९०० को प्रारम्भमा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएको ऐतिहासिक घटनाले नै दुई देशका जनताबिच सम्बन्धको जग बसालेको उनको भनाइ थियो। सोही ऐतिहासिक जगका आधारमा सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको उनले बताए।
नेपालको विकास यात्रामा जापान एक विश्वासिलो साझेदार रहँदै आएको चर्चा गर्दै मन्त्री खनालले पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासमा जापानले पुर्याएको योगदानको उच्च प्रशंसा गरे ।
हाल जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीमध्ये नेपाली विद्यार्थी दोस्रो ठुलो समूहका रूपमा रहेको तथ्यले जनस्तरको सम्बन्ध कति जीवन्त छ भन्ने स्पष्ट पारेको उनले बताए ।
नेपालमा हालै आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति जापानी समकक्षी साने ताकाइचीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवादमार्फत ऐक्यबद्धता जनाएको स्मरण गर्दै मन्त्री खनालले विपद्का समयमा जापानले पठाएको राहत सामग्री, फरेन्सिक विशेषज्ञता र डीएनए पहिचानमा गरेको प्राविधिक सहयोगका लागि आभार व्यक्त गरे ।
यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिएको उल्लेख गर्दै उनले पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईलाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गरेकोमा खुसी व्यक्त गरे । साथै, ‘जेडीएस’ छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती प्रशासन र संस्थागत क्षमता अभिवृद्धिमा ठुलो टेवा पुर्याएको उनले बताए ।
दक्षिण एसियाली क्षेत्र र जापानबिच जलवायु परिवर्तन, प्राकृतिक विपद् व्यवस्थापन, सहरीकरण र युवा रोजगारीजस्ता साझा चुनौती रहेको औँल्याउँदै मन्त्री खनालले आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई), नवीकरणीय ऊर्जा र आधुनिक इन्जिनियरिङजस्ता उदीयमान प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड दिए ।
परराष्ट्रमन्त्री खनालले साफजुआलाई विश्वविद्यालय, नीति निर्माता र निजी क्षेत्रबिच सेतुको भूमिका खेल्न आग्रह गर्दै भने, ‘नेपाल र जापानबिचको मित्रताको ७० वर्ष पूरा भएको ऐतिहासिक घडीमा आगामी ७० वर्षलाई अझ उपलब्धिमूलक बनाउन हामीले शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा लगानी केन्द्रित गर्नुपर्छ।












