१८ कार्तिक २०८३, बुधबार

च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो


च्याउखेती

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६, वनगाउँकी एकल महिला पार्वती थापा व्यवसायिक च्याउखेतीबाट आत्मनिर्भर बनेकी छन् ।

२०६९ मा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउखेती सुरु गरिन् । सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउखेती सुरु गरेकी थापाले हाल पाँचवटा फार्म सञ्चालन गरी वर्षभरी च्याउ उत्पादन गर्दै आएकी छन् ।

‘श्रीमान् बितेपछि केही गर्न पनि अरुसँग पैसा माग्नुपर्ने अवस्था आयो, अरुले पैसा छैन भन्दा नराम्रो लाग्थ्यो,’ उनले विगत सम्झँदै भनिन्, ‘अरुलाई पैसा माग्नुभन्दा आफैँ केही गरेर आत्मनिर्भर बन्ने सोच आयो ।’ आत्मनिर्भर बन्नका लागि केही न केही गर्नुपर्छ भन्ने हुटहुटी रहेका बेला उनलाई आफन्तले च्याउ दिएको सम्झिन्छिन् । त्यसपछि च्याउ खेती गरेरै आत्मनिर्भर हुन सकिन्छ कि भनेर यसमा लागेको उनको भनाइ छ ।

‘सुरुवातमा बिउ कहाँ पाइन्छ भन्ने पनि थाहा थिएन,’ उनले भनिन्, ‘पछि कृषि विज्ञान पढिरहेको छोराले च्याउखेतीको किताब दियो ।’ सुरुवाती चरणमा च्याउखेतीको पर्याप्त ज्ञान नहुँदा समस्या भोग्नु परेको उनको भनाइ छ ।

सुरुमा किताबमा पढेर च्याउखेती गर्ने प्रयास गरे पनि त्यसबाट अपेक्षित सफलता प्राप्त गर्न नसकेको उनको भनाइ छ । ‘आफैँले गरे जस्तो किताब पढेर मात्र नहुँदो रहेछ,’ उनले भनिन्, ‘सुरुवातमा पाँचवटा पोका च्याउ राखेको थिए कसरी राख्ने भन्ने ज्ञान नहुँदा त्यो सबै खेर गयो ।’

अर्को वर्ष कृषि ज्ञान केन्द्र र च्याउखेती गरेका अन्य किसानबाट खेती गर्ने तरिका सिकेपछि राम्रो उत्पादन भएको उनले बताइन् । ‘यहाँ जतिले च्याउखेती गरेका थिए सबैको फर्ममा हेर्न गए उहाँहरूले पनि मलाई राम्रो सहयोग गर्नुभयो,’ थापाले भनिन्, ‘सुरुमा कसरी पराल काट्ने, कसरी राख्ने, कसरी उमाल्ने केही थाहा थिएन ।’ च्याउखेतीबाट आम्दानी हुन थालेपछि हरेक वर्षको नाफा पुनः व्यवसाय विस्तारमा लगानी गर्दै आएको उनको भनाइ छ ।

अहिले च्याउखेतीमा भएको लगानी कटाएर करिब ५० प्रतिशतसम्म नाफा हुने गरेको उनको भनाइ छ । ‘च्याउखेतीबाट घर खर्च दुईवटा छोराको पढाइ खर्च चलेको छ,’ उनले भनिन्, ‘अहिलेसम्म आफ्नो पैसा च्याउखेतीमा लगानी गरेको छैन बिक्रीबाट आएको नाफाबाट थप खेती गर्छु ।’

उनका अनुसार वर्षमा १ हजार ५०० केजी च्याउ बिक्री हुने गरेको छ । त्यसबाट वार्षिक दुई लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । ‘मेरो छोरा कृषि विज्ञान अध्ययन गर्दै छ उसले मलाई सहयोग गर्छ,’ उनले भनिन्, ‘अहिले हिउँद र वर्षातको समयमा च्याउ फलाउँछु यसबाट म आत्मनिर्भर छु ।’

सुरुवातमा बाँसको टहरा बनाएर च्याउखेती गर्दा हरेक वर्ष हावाहुरीका कारण छाना उड्ने समस्या भोग्नुपरेको उनले सुनाइन् ।

कृषि ज्ञान केन्द्रबाट च्याउखेतीसम्बन्धी कार्यक्रम सञ्चालन हुने जानकारी पाएर निवेदन दिएपछि सहयोग प्राप्त भएको उनको भनाइ छ । ‘ज्ञान केन्द्रबाट सहयोग प्राप्त भएपछि च्याउखेतीलाई व्यवस्थित रूपमा अघि बढाउन सहज भयो,’ उनले भनिन्, ‘अहिले सिजनअनुसार कन्ने र मिल्की च्याउ उत्पादन हुन्छ यसवर्षदेखि डल्ले च्याउ पनि उत्पादन गर्ने तयारी गरेकी छु ।’

उनले आफूले अझै धेरै उत्पादन गर्न सक्ने भए पनि बजारमा अन्यत्रबाट आयात भएको च्याउले गर्दा बिक्रीमा समस्या हुने गरेको बताइन् । आगामी दिनमा उत्पादन अझै बढाउने योजना रहे पनि बजारमा च्याउको उचित मूल्य नपाउँदा समस्या हुने गरेको उनको भनाइ छ ।

‘धेरै उत्पादन बढाउने सोच थियो यहाँ बाहिरी जिल्लाबाट आउने च्याउ सस्तो हुन्छ हामीले मेहनतले उत्पादन गरेको मूल्य पाइँदैन,’ थापाले भनिन्, ‘स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्रवर्द्धन गरेर सहयोग गर्नुपर्छ ।’

उत्पादन बढाउने सम्भावना भए पनि बजार मूल्य सुनिश्चित नहुँदा व्यवसाय विस्तारमा चुनौती रहेको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !