काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तर्सिने बानी नपरेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले तर्साउने धेरै आए पनि तर्सिने बानी नपरेको बताए ।
कांग्रेसका सभापति थापाले प्रधानमन्त्री बालेन शाहलाई लक्ष्य गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत व्यंग्यात्मक शैलीमा जबाफ फर्काएका हुन् । आज सोमबार साँझ ठिक ६ बजे फेसबुकमा छोटो स्ट्याटस लेख्दै थापाले आफू कसैसँग नतर्सिने सन्देश दिएका छन्।
‘अहिले ठिक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन,’ थापाले लेखेका छन्। यसअघि प्राय: लामा स्ट्याटस तथा भिडिओ सन्देशहरू पोस्ट गर्ने थापाले यसपालि छोटो शैली रोजेका हुन्।
प्रधानमन्त्री शाहले पनि आइतबार सामाजिक सञ्जाल फेसबुकमा चेतावनीपूर्ण शैलीमा यस्तै छोटो स्ट्याटस लेखेका थिए। ‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,’ प्रधानमन्त्री शाहले लेखेका थिए।
कांग्रेस सभापति थापाले आफ्नो स्ट्याटसमा ‘ठिक १८:०० बजेको छ’ भन्नु पनि अर्थपूर्ण छ। थापाले ठिक ६ बजे (१८:००) नै यो स्ट्याटस सार्वजनिक गर्नुलाई त्यही १८ करोडको प्रतिवादका रूपमा बुझिएको छ ।
पछिल्लो समय नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि पार्टीको आधिकारिकता प्राप्त गर्ने प्रक्रियालाई लिएर विवाद उठेको छ । विशेष महाधिवेशनपछि कांग्रेसको आधिकारिकता प्राप्त गर्न १८ करोड रूपैयाँको आर्थिक लेनदेन भएको दाबीसहित समाचार सार्वजनिक भएका छन् ।












