काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिएको निर्देशन सरकारले कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।आज आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ‘विशेष’ सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सञ्चारगृह परिसरमा गरिएको गाडी पार्किङको प्रसंग उठाउँदै उनले रास्वपाको निर्देशन र सरकारको कामबीच तालमेल नरहेको बताएका हुन् । पत्रकार पक्राउ गरिएको घटनासँग गाडी पार्किङको प्रसंग जोड्दै थापाले सरकारको कार्यशैलीको आलोचना गरे ।
सञ्चारमाध्यममाथि सरकारले पटक–पटक प्रहार गर्दै आएको भन्दै आपत्ति जनाए । शुक्रबार (कात्तिक १३) सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाको उनले विरोध गरेका हुन् । सञ्चार माध्यममा प्रकाशित समाचारका विषयलाई लिएर पत्रकार पक्राउ गरिएको थापाले बताए ।
झोकका आधारमा पत्रकार पक्राउ गरिएको भन्दै थापाले पत्रकारलाई धम्क्याउने प्रवृत्ति गलत भएको बताए । थापाले विगतमा गठन भएका विभिन्न छानबिन समितिका प्रतिवेदनहरूको खोजी गर्दै सरकारलाई प्रश्न गरे ।












