काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विभिन्न सञ्चारमाध्यममा आफूसँग जोडिएर आएका समाचारहरुबाट आफू आश्चर्यमा परेको बताएका छन् ।
प्रधानन्यायाधीश डा शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूसँग जोडिएर आएको समाचार झुठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यले प्रचार गरिएको उल्लेख गरेका छन् ।
“यसरी आधारहीन, झुठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भत्र्सना गर्दछु”, विज्ञप्तिमा भनिएको छ, “यस्तो आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोधसमेत गर्दछु ।”
यसैबीच सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आज केही सञ्चारमाध्यममा आफूसँग जोडेर गलत मनसायले जनमानसमा भ्रम छर्ने ढङ्गले समाचार आएको भनी खण्डन गरेका छन् ।
न्यायाधीश फुयालले आज पत्रकारहरुसँग कुरा गर्दै आफूसँग जोडिएर आएको विषय झुटो र भ्रामक भएको स्पष्ट पारे ।
“स्वतन्त्र न्यायापालिकाको रक्षा र निष्पक्ष न्याय सम्पादनमा म प्रतिबद्ध छु”, न्यायाधीश फुँयालले भने, “त्यस्तो समाचारमा कुनै सत्यता छैन, केवल दुष्प्रचार गर्ने र जनमानसमा भ्रम फैलाउने काम भएको छ ।”












