१० कार्तिक २०८३, मंगलबार

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्त्वपूर्ण छ : महामन्त्री पौडेल


प्रदीप पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । उनले लोकतन्त्र सङ्कटमा परेका बेला तरुणहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पार्टीको सङ्गठन सुदृढीकरण र रूपान्तरणमा पनि युवाहरूले सिर्जनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल तनहुँद्वारा आज दमौलीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले तरुण दललाई नेपाली कांग्रेसको मेरुदण्डको संज्ञा दिए ।

लोकतान्त्रिक आन्दोलन तथा लोकतन्त्रको रक्षाका लागि तरुणहरूले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउँदै उनले आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको संरक्षणमा युवाहरू सक्रिय हुनुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसले तरुण तथा युवालाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै पौडेलले पार्टीभित्र युवापुस्ताको प्रतिनिधित्व बढ्दै गएको बताए । उनले कांग्रेसको रूपान्तरणका लागि तणहरूले केवल सङ्गठन विस्तारमा मात्र सीमित नभई नयाँ सोच, विचार र सिर्जनात्मक कार्यक्रममार्फत पार्टीलाई जनतासँग जोड्नुपर्ने बताए ।

पार्टीमा भएका सुधारका प्रयास र परिवर्तनलाई जनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले पार्टीभित्र भएका सकारात्मक परिवर्तनबारे जनतालाई बुझाउनसके कांग्रेसप्रतिको विश्वास थप बलियो बनाउन सहयोग पुग्ने धारणा राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !