बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच भीडन्तको घटनाबाट चिनिएको वसन्तपुर डाँडाको स्वरुप अहिले परिवर्तन भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा केबुलकार सञ्चालनसँगै लगानी भित्रिने क्रम पनि बढेको छ । पछिल्लो चार वर्षदेखि वसन्तपुर डाँडामा लुम्बिनी केबुलकार सञ्चालनमा आएपछि सो डाँडा रमणीय पर्यटकीय आकर्षणको महत्त्वपूर्ण गन्तव्य बन्दै गएको छ । बुटवल बजारबाट करिव दुई घण्टाको पैदल यात्रामा त्यहाँ पुग्ने पर्यटकले अहिले केबुलकारबाट आधा घण्टामै यात्रा तय गर्न पाएका छन् ।
भारतीय पर्यटकलाई लक्षित गरेर सञ्चालनमा आएको सो केबुलकारबाट सबैभन्दा बढी मनोरञ्जन भारतीय पर्यटकले लिइरहेको लुम्बिनी केबुलकारका सञ्चालक चन्द्र ढकालले बताए।
उनले भने, “अहिले सबैभन्दा बढी भारतीय पर्यटक निर्बाध रूपमा आइरहनुभएको छ, यसको मुख्य कारण बुटवलमा गर्मी भए पनि वसन्तपुर डाँडामा पुग्दा चिसोको आनन्द लिन मिल्छ” ।
सञ्चालक ढकालले करिव रु छ करोडको लगानीमा तारे होटेल सञ्चालनमा ल्याउन लागेको र त्यसको वातावरणीय प्रभाव मूल्याङ्कन भएको जानकारी दिँदै तारे होटेल सञ्चालन आउन साथ पर्यटन आकर्षणमा रौनक थपिने विश्वास व्यक्त गरे। सो होटेल क्यासिनोसहित सुविधा सम्पन्न हुने छ । भारतीय पर्यटकलाई भित्र्याएर यहाँ राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।
मलेसियाको ग्याल्टिङआइल्याण्ड शहरको जुन परिकल्पना छ, त्यस्तै प्रकारको शहरबाट थोरै टाढा सबै सुविधा सम्पन्न क्यासिनो, जीप पार्कलगायतका अवधारणा भएका क्षेत्रका रूपमा एकीकृत पर्यटकीय योजना बनाउने उद्देश्यअनुसार चन्द्रगिरी केबुलकार सञ्चालन भएको जनाइएको छ ।
केबुलकारसञ्चालनमा आएपछि सातै वटा प्रदेशमा यस्ता परियोजना एकीकृत पर्यटकीय गन्तव्य निर्माण गर्ने सोचिएको र बुटवलमा धेरै पहिले स्थानीय केही व्यक्तिले परिकल्पना गरेको यस अवधारणालाई मूर्त रूप दिइएको व्यवसायी ढकालले बताए।
“आन्तरिक पर्यटकभन्दा पनि भारतीय पर्यटक वर्षेनी बढी आउन थालेका छन् र सुविधासम्पन्न होटेल सञ्चालनमा आएपछि यो पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्य हुन सक्छ” उनले भने।
गौतमबुद्ध जन्मस्थल लुम्बिनी करिव ५० किलोमिटरको दुरीमा रहेको छ । यहाँ आउने पर्यटक पनि वसन्तपुर डाँडामा रमाउन आउने गर्छन्, यहाँ आउने भारतीय पर्यटक लुम्बिनी केबुलकार आएर फर्किने गरेको स्थानीयको भनाइ छ ।
स्थानीयबासी लक्ष्मण गौतम, तेजप्रसाद सुनार लगायतको पाँच जनाको टोलीले परिकल्पना गरेको केबुलकारको पाँच वर्षअघि चन्द्रप्रसाद ढकाल समूहको आइएमई ग्रुपले उक्त र निर्माणको नेतृत्व लिन तयार भएको हो । त्यसलगत्तै परियोजना निर्माण केवल दुई वर्षमै सम्पन्न भएको थियो । विस २०८० जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको केबलकारको माथिल्लो स्टेशन वसन्तपुर डाँडामा रहेको छ ।
लुम्बिनी केबुलकारका व्यवस्थापक प्रज्ज्वल घिमिरेले केबुलकारबाट यात्रा गर्दा जङ्गलमा नै घोरल, चित्तललगायतका वन्यजन्तुको दृश्य देख्न सकिने जानकारी दिँदै त्यस्तो दृश्य देख्न पाउँदा पर्यटक रमाउने गरेको बताए।
तत्कालीन माओवादी– सेनाबीच सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वकालमा त्यहाँ पुगेका भैरहवाका पत्रकार दीपेन्द्र बडुवालले त्यहाँको स्वरूपमा भएको रूपान्तरणले पर्यटकीय सम्भावना बढाएको बताए। सशस्त्र युद्धको सम्झनालाई जीवन्त राख्न सके त्यसले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास उनको छ ।
उनले त्यहाँ पुग्दा सेनाले फायरिङ् खोल्दा ढुङ्गामा लुक्नुपरेको र डाँडामा बसेर खाजा खाएको घटना सम्झना हुने बताए।
केबलकारको माथिल्लो स्टेशन वसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई अहिले पुन:निर्माण गरिएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशेष आकर्षण बनेका छन् ।
कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास पछ्याउँदै नेपाल र भारतका विभिन्न शहरबाट उल्लेख्य सङ्ख्यामा भक्तजन त्यहाँ पुग्ने गर्छन् ।
माथिल्लो स्टेशनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुराँ, ज्वाइन्ट स्वीङपिङ्लगायतका पूर्वाधार बनेका छन् । वसन्तपुरबाट बुटवल, तिलोत्तमा हुँदै भैरहवासम्मको दृश्यका साथै मौसम सफा हुँदा हिम शृङ्खला त्यहाँबाट देख्न सकिन्छ । लुम्बिनी केबुलकारका अनुसार तीन वर्षमा पाँच लाख बढी पर्यटक भित्रिएका छन् । त्यसमध्ये करिव ३० प्रतिशत भारतीय पर्यटकको सङ्ख्या रहेको छ । अघिल्लो वर्षभन्दा गत आर्थिक वर्षमा भारतीय पर्यटकको आगमन २५ प्रतिशतले वृद्धि भएको छ । भारतको आन्ध्र प्रदेश, झारखण्ड, बिहार, केरलालगायत प्रमुख शहरबाट पर्यटक वसन्तपुर डाँडामा आउने गरेका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दीपेन्द्र कुँवरले त्यहाँ पुगेर आउँदा विगतमा द्वन्द्वकालका बेला देखिएका घटनाहरू स्मरण भएको उल्लेख गर्दै पहिले स्थल मार्गबाट पुगिएको र अहिले केबलकारबाट जान पाइएकाले भरपुर मनोरञ्जन मिलेको बताए।












