काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यको संवेदनशील सूचना चुहाउने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आज मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन् ।
गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको बताएका छन् ।
उनले राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभएर सार्वजनिक जिम्मेवारी भएकोले पदले सूचनामा पहुँच दिने तर दुरुपयोग गर्ने अधिकार कसैलाई पनि नदिने बताएका छन् ।
उनले प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने भएकोले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने जोसुकै भएपनि कुनै उन्मुक्ति नदिने र कानूनको कठघरामा ल्याइने चेतावनी दिएका छन् ।









