१५ आश्विन २०८३, बिहिबार

बालेनप्रति भीष्मराजको कटाक्ष: ‘संसद् मदिरालय होइन!’


भीष्मराज आङदेम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र संसदीय मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा उनले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारमा शासन गर्ने कौशल र संस्थागत लोकतान्त्रिक संस्कारको अभाव देखिएको भन्दै उनले प्रधानमन्त्रीको दम्भ र संसद्प्रतिको गैरजिम्मेवार व्यवहारले लोकतन्त्र कमजोर हुने चेतावनी दिएका हुन् ।

आङदेम्बेले सरकार बहुमतको उन्मादमा सीमित राजनीतिक घेराभित्र मात्रै केन्द्रित हुन खोजेको आरोप लगाए । उनले लोकतन्त्रका आधारभूत स्तम्भ, संवैधानिक निकाय र नागरिक समाजलाई साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए ।

संसद् सरकारको प्रतिस्पर्धी नभई लोकतन्त्रको साझा मञ्च भएको उल्लेख गर्दै उनले सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने बताए । प्रधानमन्त्रीको हालैको संयुक्त राष्ट्रसंघीय महासभा भ्रमणबारे पनि उनले प्रश्न उठाए । महासभामा जानुअघि संसद्लाई जानकारी नदिइएको र फर्केपछि पनि भ्रमणका गतिविधिबारे सदनलाई जानकारी नगराइएको भन्दै उनले संसदीय परम्पराको उपहास भएको बताए ।

जलवायु परिवर्तन र भू–राजनीतिक मुद्दामा प्रधानमन्त्रीले पर्याप्त गृहकार्य गर्न नसकेको उनको भनाइ थियो । संसद् बैठकमा प्रधानमन्त्रीको पटक–पटकको अनुपस्थितिलाई उनले ‘दुर्भाग्यपूर्ण’ बताए ।

आङदेम्बेले प्रधानमन्त्रीको यस्तो प्रवृत्तिले नयाँ पुस्तालाई गलत सन्देश दिइरहेको दाबी गरे । सत्तामा पुगेपछि केन्द्रित र स्वेच्छाचारी ढंगले कार्यकारी अधिकार प्रयोग गर्ने तथा आलोचना गर्नेहरूको आवाज दबाउने प्रवृत्ति घातक रहेको उनले बताए ।

आक्रोश र डिजिटल लोकप्रियताको भरमा राज्य सञ्चालन हुन नसक्ने भन्दै उनले संस्थागत लोकतन्त्र जोगाउन नेतृत्वको कार्यशैलीमा सुधार आवश्यक रहेको बताए । प्रधानमन्त्रीको यस्तो प्रवृत्तिले नयाँ पुस्तालाई गलत सन्देश दिइरहेको जिकिर उनको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु