काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जेनजीबाट नभई कुनै अपरिचित समूहबाट थ्रेट आएको स्पष्ट पारेको छ । आज मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताएका हुन् ।
उनले पूर्वप्रधानन्यायाधीश जबरालाई कुनै अपरिचित समूहबाट फोनमा टेक्समार्फत थ्रेट आएको बताए । सो थ्रेट आएपछि सरकारले उनलाई सुरक्षित ठाउँमा राखेको उनको भनाइ छ ।
उनलाई प्रहरीले सुरक्षित ठाउँमा लगिसकेपछि पनि थ्रेट आएको कुरा परिवारबाट आएको समेत पोखरेलले बताए । उनले जबरालाई पक्राउ नगरिएको र नियन्त्रणमा समेत नलिएको जिकिर गरे ।
मन्त्री पोखरेलका अनुसार राणाको परिवारले सुरक्षाका लागि प्रहरी कार्यालयमा निवेदन दिएपछि उनलाई सुरक्षित स्थानमा लगिएको हो । मन्त्री पोखरेलले उक्त थ्रेट ‘जेनजी’ बाट आएको भन्ने कुरा सरकारले नभनेको पनि स्पष्ट पारे ।









