काठमाडौँ । अमेरिकी प्रतिष्ठित पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्व र उनले संयुक्त राष्ट्रसंघको महासभामा उठाउने भनिएको जलवायु मुद्दाको विषयलाई लिएर एक विशेष समाचार प्रकाशित गरेको छ ।
प्रधानमन्त्री शाह हाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेकै बेला ‘द न्युयोर्क टाइम्स’का लागि विनोद घिमिरे र सजल प्रधानले गरेको रिपोर्टिङमा सहयोगमा बैंककमा रहेर एसियाभरीका खोजमूलक समाचार लेख्ने ह्याना बीचको बाइलाइनमा यो समाचार प्रकाशित भएको हो ।
न्युयोर्क टाइम्सले ‘संकटग्रस्त नेपालबाट, एक युवा नेताद्वारा जलवायु क्षतिपूर्तिको वकालत” शीर्षक दिँदै शाहको राजनीतिक उदय, अन्तर्राष्ट्रिय मञ्चमा उनको उपस्थिति र उनको कार्यशैलीको पक्ष-विपक्षबारे विस्तृत चर्चा गरेको छ।
समाचारमा आफ्नो प्रधानमन्त्रीको ६ महिनाको कार्यकालमै नेपालका ३६ वर्षीय प्रधानमन्त्री बालेन्द्र शाह विश्वभरका राजनीतिक रूपमा सचेत युवाहरूको एक प्रतीकका रूपमा रूपान्तरण भएका छन् ।
यस्तो छ न्युयोर्क टाइम्सको समाचार
३६ वर्षीय बालेन्द्र शाह कालो चस्मामार्फत आफ्नो पहिचान प्रस्तुत गर्छन्, संसद्का बैठकमा कमै उपस्थित हुन्छन् र अधिकांश कुराकानी सामाजिक सञ्जालमार्फत गर्छन् । तर प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकालको ६ महिनामै उनी विश्वभर राजनीतिक रूपमा सक्रिय युवाको प्रतीकजस्तै बनेका छन् ।
प्रधानमन्त्री बनेपछि मार्चमा पद सम्हालेयता पहिलो विदेश भ्रमणमा रहेका शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै धेरै युवा पुस्ताका लागि महत्त्वपूर्ण विषय ‘जलवायु क्षतिपूर्ति’ बारे आवाज उठाउनेछन् ।
न्यून आय भएका देशहरूले आफूले सिर्जना नगरेको विश्वव्यापी तापक्रम वृद्धिको असर भोगिरहेका छन् । गत महिना ‘ग्लासियर’ भत्किँदा आएको बाढीले नेपालमा हजारौँ मानिसको मृत्यु भएको वा उनीहरू बेपत्ता भएका छन् । केही वैज्ञानिकहरूले उक्त विनाशकारी बाढीलाई जलवायु परिवर्तनले अझ गम्भीर बनाएको हुन सक्ने बताएका छन् । बिहीबारको सम्बोधनमा शाहले अत्यधिक औद्योगिक प्रदूषण गर्ने देश तथा उद्योगहरूलाई त्यसको क्षतिपूर्ति तिर्न आग्रह गर्ने तयारी गरेको उनका सल्लाहकारहरूले बताएका छन् ।
‘हामी नेपाली युवाको मात्र होइन, विश्वभरका युवाको आवाज बन्न सक्छौँ भन्ने हाम्रो विश्वास छ,’ शाहसँगै न्यूयोर्क पुगेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले गत साता काठमाडौंमा भएको अन्तर्वार्तामा भनेका थिए ।
इन्जिनियर तथा कवि–र्यापर शाहले आफ्नो चुनावी अभियानका लागि आफैँ गीत पनि बनाएका थिए । अत्यधिक शिक्षित तर बेरोजगारीको समस्यामा रहेका युवा नेपालीको समर्थनमा उनी सत्तामा पुगे । ती युवाहरूलाई आफ्नो भविष्य अहंकारी र भ्रष्ट राजनीतिक अभिजात वर्गले खोसिरहेको महसुस भएको थियो ।
राजनीतिज्ञका परिवारले सामाजिक सञ्जालमा प्रदर्शन गर्ने विलासी जीवनशैलीप्रति उनीहरू आक्रोशित थिए । अर्कोतर्फ, ठूलो संख्यामा नेपाली युवा जीविकोपार्जनका लागि विदेशमा काम गर्न बाध्य थिए ।
लोकप्रिय रूपमा ‘बालेन’ भनेर चिनिने शाहले आफ्ना गीतमार्फत यिनै निराशालाई आवाज दिएका थिए । उनले विदेशी बैंक, साम्राज्यवादी शक्तिहरू र ‘शोषणकारी नेताहरू’ को आलोचना गर्थे । सन् २०२२ मा उनी काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भए ।
उनको एउटा गीतमा भनिएको थियो, ‘नो स्ट्यास अफ बिग क्यास, स्टिल आइ डन्ट फेक इट । अन्डररेटेड बट अन्डरस्टुड बाई अनएजुकेटेड ।’ (ठूलो धनको थुप्रो छैन, तर म नाटक गर्दिनँ । कम आँकिएँ, तर कम शिक्षितहरूले पनि मलाई बुझे ।)
सन् २०२५ को सेप्टेम्बरमा नेपाली युवाको आक्रोश सडकमा विस्फोट भयो । सुरक्षा बलले युवा प्रदर्शनकारीमाथि गोली चलाएर हत्या गरेपछि त्यो आक्रोश झन् उग्र बन्यो । उनीहरूले केवल दुई दिनमै नेपालको पुरानो राजनीतिक नेतृत्वलाई सत्ताबाट हटाइदिए ।
यस्तै प्रकृतिका जेन–जी आन्दोलन विश्वका विभिन्न ठाउँमा पनि देखिए । तर तीमध्ये अधिकांशले नेपालमा जस्तो राजनीतिक क्रान्तिको रूप लिन सकेनन् ।
तर अहिले शाहका आलोचकहरूको संख्या केही बढिरहेको पनि छ । त्यसमध्ये नेपालकै जेन–जी पुस्ताका सदस्यहरू पनि छन् । उनीहरूबीच शाहको राजनीतिक सोच लोकतान्त्रिकभन्दा बढी अधिनायकवादी बन्दै गएको चर्चा हुन थालेको छ ।
काठमाडौंको मेयर हुँदा शाहले कमजोर तथा जोखिममा रहेका बासिन्दाको हितमा पर्ने असरको मूल्यमा शहर सफा गर्ने अभियान चलाएको आलोचकहरूको आरोप छ ।
प्रधानमन्त्री बनेपछि पनि उनले निर्णय गर्ने अधिकार सीमित व्यक्तिहरूको घेरामा राखेको आरोप लाग्दै आएको छ । कतिपय मन्त्रीहरूलाई समेत महत्त्वपूर्ण निर्णयबारे जानकारी नहुने अवस्था रहेको बताइएको छ ।
शाहअघि प्रधानमन्त्री रहेकी सुशीला कार्कीले एक अन्तर्वार्तामा न्यायपालिकाको स्वतन्त्रताबारे आफू चिन्तित रहेको बताएकी थिइन् । सञ्चारमाध्यम र नागरिक समाजका सदस्यहरूले पनि आफूहरू दबाब र त्रासमा रहेको महसुस गरेको बताएका छन् ।
‘अहिले मानिसहरू प्रधानमन्त्री र उनका मानिसका कारण डरको संस्कृतिमा बाँचिरहेका छन्,’ अनुभवी मानवअधिकार कानुन व्यवसायी ओमप्रकाश अर्यालले भने ।
जेन–जी क्रान्तिपछि बनेको अन्तरिम सरकारमा अर्याल गृहमन्त्री थिए । उनी प्रहरी तथा आन्तरिक सुरक्षाको जिम्मेवारीमा थिए । त्यसअघि उनी काठमाडौंको मेयर हुँदा शाहलाई कानुनी सल्लाह दिने गर्थे । अर्याल भन्छन्, ‘हामी एक जना व्यक्तिको शासनमा बाँचिरहेका छौँ । चस्मा लगाउने एक जना व्यक्तिको शासनमा ।’









