८ आश्विन २०८३, बिहिबार

नयाँ रंगसहितको १००० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा आउने


नयाँ रंगसहितको १००० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा आउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको छ । एक हजार दरको साविककै आकारमा रङ परिवर्तन गरी बैजनी रङको घेराभित्र फिक्का हरियो नोट चलनचल्ती ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र र लालीगुराँसको पानीछाप राखिएको छ । दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न दायाँतर्फको तल्लो भागमा एक हजार अंक जनाउने रोमन अक्षर ‘एम’ राखिएको छ।

त्यस्तै, सगरमाथा हिमालको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०/१० वटा तेर्सा रेखा, अग्रभागमा सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र भगवतीको चित्रसमेत राखिएको छ।

नोटको मध्य खण्डमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तिहरूमध्ये देवकली भनी चिनिने हात्तीबाट जन्म भएका दुर्लभ मानिने राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुईवटा हात्तीहरूको चित्र रहेको छ ।

नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटको तल्लो भागमा ‘वि.सं. २०८२’ को सिरिज उल्लेख गरिएको छ ।

चलनचल्तीमा ल्याइने एक हजारको नयाँ नोटको सिरिज २०२५ र संकेत नम्बर९२०००००१ देखि ५०९९९९९९ रहेको छ । यसअघि ७ साउन २०७७ देखि चलनचल्तीमा ल्याइएको १ हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८०००००१ देखि ९१४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !