काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट भएको क्षति र त्यससँग जोडिएका बहुआयामिक विषयलाई संयुक्त राष्ट्रसंघको महासभामा उठाउन निर्देशन दिएको छ। महासभामा प्रधानमन्त्री बालेन शाह र परराष्ट्रमन्त्री शिशिर खनाल लगायत सहभागी हुनेछन् ।
आज आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले महासभामा सहभागी हुन जाने प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतको टोलीलाई भोटेकोशी विपदसँग जोडिएका विषय उठाउने तयारी गर्न निर्देशन दिएको हो ।
बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डिएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिएका व्यक्तिका परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंगोमा पुर्याउन पनि रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकमा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता तथा आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई जानकारी गराएका थिए । बैठकले भोटेकोशी विपद्का कारण स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुनः सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।









