काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आज बसेको कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको बताएका छन् । एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिवेदनमा अध्यक्ष ओलीलाई हटाउने कुरा कहीँ कतै नराख्ने सहमति भएको जानकारी दिएका हुन् ।
बस्नेतले एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषय नरहने बताएका छन् । उनले विशेष महाधिवेशन र अध्यक्ष ओलीको राजीनामाको विषय प्रतिवेदनमा नरहने बताएका हुन् ।
एमाले कार्यदलकोतर्फबाट उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले प्रतिवेदन बनाएका थिए । महासचिव पोखरेलको प्रतिवेदनमा ओलीले राजीनामा दिनुपर्ने उल्लेख थियो ।
दुवै प्रतिवेदनमा कुरा नमिलेपछि ओलीले प्रतिवेदन पुनर्लेखनको जिम्मा नेता प्रदीप ज्ञवालीलाई दिइएको थियो । ज्ञवालीले नेतृत्व हस्तान्तरण र रूपान्तरण बहस गर्न सकिने भए पनि अध्यक्षको राजीनामाको विषय थप छलफलको विषय रहेको कुरा उल्लेख गर्दै प्रतिवेदन तयार गरेका थिए ।









