काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिहरूलाई सम्मानसहित आलोचनाबाट सिक्न सके संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुने बताएका छन् ।
संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अनेकौँ सङ्घर्ष र बलिदानबाट प्राप्त संविधान बमोजिम नेपालीले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि आफ्नो राज्यसँग याचना गर्नुपर्ने अवस्था आउन नहुनेमा जोड दिए ।
उनले देशको मूल कानुन संविधानप्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आमजनताको जीवनमा स्थापित सक्नुपर्नेमा जोड दिँदै प्राकृतिक विपत्तिले विकास केवल सडक, पुल र भवन होइन मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो भन्ने सोच्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले संविधानमा अन्तर्निहित लोकतान्त्रिक राज्यप्रणाली जनताको सर्वोपरि हितमा जोडिएकाले अब जलवायु परिवर्तनका चुनौतीबीच हाम्रा विकासका ढाँचाहरू अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बन्नुपर्छ भन्ने धारणा व्यक्त गरे ।









