काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप निरन्तरता दिने विषयमा छलफल भएको थियो। साथै, नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग तथा सहकार्यका विषयमा पनि कुराकानी भएको थियो।
भेटका क्रममा मन्त्री पोखरेलले विद्यालय शिक्षा सुधारका लागि मन्त्रालयले विभिन्न नीतिगत तथा संरचनागत सुधारका काम अघि बढाइरहेको जानकारी दिए।
उनले विद्यालय शिक्षासम्बन्धी महत्वपूर्ण नीतिगत दस्तावेजका रूपमा रहेको शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको र त्यसमा आवश्यक सुधारका विषय समेत समेटिने बताए।
मन्त्री पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, शिक्षकको पेसागत विकास तथा डिजिटल शिक्षाका क्षेत्रमा समेत मन्त्रालयले काम गरिरहेको बताए।
उनले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा बेलायत सरकारले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्रालयले अघि बढाएका सुधारका कार्यक्रममा उपयुक्त सन्दर्भमा बेलायत सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। साथै, आगामी दिनमा शिक्षा तथा खेलकुद क्षेत्रमा नेपाल–बेलायतबीचको सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे।
भेटमा बेलायती राजदूत फेनले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रसँगको सहकार्य बेलायत सरकारका लागि महत्वपूर्ण रहेको बताए। उनले शिक्षा क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
उनले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यालयका शिक्षकको पेसागत विकासका लागि ब्रिटिस काउन्सिलमार्फत सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
जलवायुजन्य विपद्को सामना गरिरहेको अवस्थामा बेलायत सरकार नेपाल सरकारका साथमा रहेको उनको भनाइ थियो। https://nepalnews.com/2026/09/15/british-ambassador-pays-courtesy-call-on-education-minister-pokharel/









