२८ भदौ २०८३, आइतबार

कृष्णभीरमा ‘ट्रायल’को रूपमा ग्यास बुलेट र हेभी सवारी पास गराइयो


कृष्णभीरमा 'ट्रायल'को रूपमा ग्यास बुलेट र हेभी सवारी पास गराइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा ‘ट्रायल’को रूपमा ग्यास बुलेट र हेभी सवारी पास गराइएको छ । कृष्णभीरमा १२ दिनपछि ट्रायलका रूपमा सडकको अवस्था परीक्षण गर्न एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो ।

सडक निर्माणको कामलाई तीव्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका हेभी सवारीसाधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराइएको हो । काठमाडौँबाट मुग्लिङतर्फ पहिलो ग्यास बुलेट पठाइसकिएको र त्यसपछि रोकिएर बसेका हेभी इक्युपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको हो ।

सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका रूपमा सवारीसाधन सञ्चालन गरिएको हो । सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ । यसरी कृष्णभीर सडक सञ्चालनको अन्तिम तयारीमा पुगेको हो ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गर्दा १४ गते सडक भासिएको थियो । त्यसयता पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्दछ । जसको कारण काठमाडौं उपत्यकाको दैनिक उपभोग्य वस्तुहरूको भाउ बढ्नुको साथै ग्यासको अभाव भएको छ ।

सडक खुलाउन एक्स्काभेटर, बुलडोजर, लोडरलगायतका हेभी इक्युपमेन्ट प्रयोग गरिएको थियो । सडक विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढाइएको हो । गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !