काठमाडौँ । आसिफ शेखको शतक र गुल्सनकुमार झाको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज शनिबार क्वालालम्पुरमा भइरहेको एसीसी प्रिमियर कपको फाइनलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ बनाएको हो ।
नेपालका आसिफले सर्वाधिक १०२ रनको योगदान गरे । उनले १०६ बलमा आठ चौका र चार छक्का प्रहार गरे । गुल्शनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए ।
अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र इशान पाण्डेले १३ रन जोडे । पहिलो विकेटका निम्ति आसिफ र अर्जुनले ९७ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए ।
यूएईका इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली र आदिब उस्मानीले एक/एक विकेट लिए । फाइनल जितेमा नेपाल एसिया कपका लागि छनोट हुनेछ ।









