काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले बाढीपहिरो पीडितका लागि आएको राहत सामग्री सुरक्षाकर्मीले प्रयोग गरेको भन्दै दिएको अभिव्यक्तिप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ । सामाजिक सञ्जालमार्फत सुरक्षा निकायलाई लक्षित गरी तथ्यहीन, कपोलकल्पित र भ्रामक सूचना फैलाइएको भन्दै नेपाल प्रहरीले प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत वितरणमा अहोरात्र खटिरहेका छन् । यही पृष्ठभूमिमा एमाले नेता बस्नेतले एक भिडियो अन्तर्वार्तामा सेना र प्रहरीमाथि राहत सामग्री हिनामिना गरेको आरोप लगाएका थिए ।
नेता बस्नेतले बाढीपहिरोपीडितको अवस्थाबारे बोल्दै सुरक्षाकर्मीमाथि गम्भीर आरोप लगाएका थिए । उनले भनेका थिए, ‘हिजो एउटा शेल्टरमा म गएको, हामीलाई चाहिँ खान छैन, आर्मी–प्रहरीले चाहिँ त्यही राहतको पैसा खाइराछन्, सामग्री खाएर राशन बचाइराछन् । अनि त्यहाँ आएका काउली लगायतका सामग्री तथा तरकारीहरू कुहिएर पुरिराछन् ।’
यसका साथै उनले ‘वान डोर सिस्टम’ का नाममा सेना र प्रहरीका ब्यारेक तथा कार्यालयभित्र राहत सामग्री कब्जा गरेर राखिएको र उद्धार कार्यमा हेलिकप्टर लैजानसमेत रोक लगाइएको दाबी गरेका थिए । बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ‘हामी नेपाल’ जस्ता संस्थाहरूमाथि पनि विपद्को समयमा स्टन्ट गरेको भन्दै आक्रोश पोखेका थिए ।
नेता बस्नेतको सोही भनाइलाई लक्षित गर्दै नेपाल प्रहरीले मंगलबार प्रेस विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा आएका यस्ता अभिव्यक्ति पूर्णतः भ्रामक र तथ्यहीन भएको स्पष्ट पारेको छ ।
प्रहरीले आफूसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेको समेत स्पष्ट पारेको छ । आफ्नो ज्यानको समेत पर्बाह नगरी विपद्मा परेका नागरिकको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार र राहत वितरणमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबल गिराउने कार्य भएको प्रहरीको ठहर छ ।









