काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जेनजीहरूलाई सम्बोधन गर्दै सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गरेका छन् । जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आज राती सामाजिक संजाल फेसबुकमा लेख्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दे यस्तो बताएका हुन् ।
”प्रिय जेनजी सुशासन कायम हुने नै छ । सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली,” प्रधानमन्त्रीले उल्लेख गरेका छन् । गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।
यही दिनलाई सरकारले ‘जेनजी शहीद दिवस’ घोषणा गरेर आज देशभरि सार्वजनिक बिदा दिएको थियो । गत वर्ष २०९२ साल भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो ।
सुशासन र भ्रष्टाचारमुक्त मुलुकको माग राखेर जेनजी आन्दोलन भएको थियो । सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो ।
दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी भएको थियो ।









