काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले ग्रीन आर्मीबारे प्रश्न उठेपछि डकुमेन्ट मागेका छन् । पछिल्लो समय विवादमा तानिएको ‘ग्रीन आर्मी नेपाल’ का विषयमा गृहमन्त्री गुरुङले चासो देखाएका हुन् ।
मन्त्रालयले ग्रीन आर्मीसँग सम्बन्धित कागजात माग गरेको पुष्टि भएको छ । संस्थाको स्वरूप, नाम र गतिविधिमाथि सामाजिक सञ्जालदेखि संसद्सम्म प्रश्न उठेपछि गृह मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थाका आधिकारिक डकुमेन्टहरू माग गरेको हो ।
संस्थाका संस्थापक अध्यक्ष सविन शर्माले गृहसहितको सम्बन्धित निकायले डकुमेन्ट माग गरेको र आफूहरूले बुझाइसकेको बताए । सरकारले मागेका सबै कागजातहरू बुझाइसकिएको र अहिलेसम्म पनि संस्था कानुनी रूपमै सक्रिय रहेको उनले बताए ।
संस्थाको नाममा रहेको ‘आर्मी’ शब्द र प्रयोग गरिएको सैनिक शैलीको पोसाकलाई लिएर संसद्मा समेत सांसदहरूले प्रश्न उठाएका थिए । यस विषयमा शर्माले यदि सरकारले ‘आर्मी’ शब्द प्रयोग गर्न नपाउने गरी साझा नीति बनाएमा आफूहरू नाम परिवर्तन गर्न तयार रहेको बताए ।









