काठमाडौं । रसुवा भोटेकोसी बाढीमा परी सम्पर्कविहीन भएका त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाका मेकानिकल फोरम्यान सञ्जय साहको आज श्रीकृष्ण जन्माष्टमीको दिन शुक्रबार बिहान जिवितै उद्धार गरिएको छ ।
बाढी आएको १०औँ दिन कृष्ण जन्माष्टमीका दिन टनेलबाट बाहिर निस्कन सफल भएका साहले भने, “महामन्त्र जप गर्दै थिएँ भित्र, हरे कृष्ण…” उद्धारपछि उनले सक्षिप्त प्रतित्रिया दिँदै आफू भदौ १० गते बिहान १० बजेतिर टनेलमा छिरेको बताए । त्यसपछि बाढीका कारण उनी टनेलभित्रै थुनिएका थिए ।
“म कन्ट्रोल रुममा काम गर्थें । अरु बेला चार/पाँच/६ जना मात्र हुन्थ्यौँ । तर, त्यतिबेला ४०–४५ जना थियौँ । कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सविलिटी सबैको ज्यान बचाउनु थियो,” उनले भने, “त्यस दिन एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन । सबैलाई बचाउन पर्यो । सबैलाई बचाउने क्रममा सबैलाई भने एक्सिडेन्ट भयो ठूलो ड्याममा । अनि सबैलाई बाहिर भाग्न लगाएँ । त्यसो गर्दा मेरो टाइम गयो लास्टमा म निस्किन पाइनँ ।”









