काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न भारतीय विदेशमन्त्री जयशंकर होटल पुगेका हुन्।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो भारत भ्रमण हो। वालेन्द्रको दुई दिने भ्रमणका क्रममा यो पहिलो उच्चस्तरीय भेटवार्ता हो । यही भेटवार्ताका आधारमा सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता कति फलदायी हुने भन्ने पनि तय हुनेछ।
प्रधानमन्त्री शाह र जयशंकरबीचको भेटवार्तापछि सोही होटलमा नेपाल–भारत व्यापारिक गोलमेच बैठक आयोजना हुँदैछ । भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने उक्त बैठकमा नेपाल र भारतका उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहनेछ ।
बैठकमा नेपालको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने कार्यक्रम छ। भारतीय उद्योग परिसंघका सहअध्यक्ष विक्रमजित सिंह साहनी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुश्री याङ्की उक्याबलगायत कार्यक्रममा सहभागी हुनेछन्।
बैठकमा नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध विस्तार, लगानीका सम्भावना, आर्थिक सहकार्य र व्यापारिक आदानप्रदानका विषयमा छलफल हुनेछ।














