काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएपछि गृहमन्त्री सुधन गुरुङले यसलाई आशाको किरणको संज्ञा दिएका छन् ।
गृहमन्त्री गुरुङले शुक्रबार सामाजिक सञ्जालमा उद्धारका केही तस्वीरहरूसहित उनले ३ए सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएकोले अझै आशाको किरण जीवितै राखेको बताएका हुन् ।
उद्धार गरिएकाहरूमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कवीर महर्जन रहेका छन्। साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङभित्र थुनिएका थिए।
उनले यस कठिन उद्धार कार्यमा अहोरात्र खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र सेन्ट्रल कमान्ड सेन्टरको टोलीलाई धन्यवाद ज्ञापन गरेका छन्। साथै, उनले निरन्तर प्रयासका लागि सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको उच्च कदर गरेका छन् ।









