१८ भदौ २०८३, बिहिबार

त्रिशूली थ्री ‘ए’ को सुरुङको मुखमा पुग्न २० हजार घनमिटर अवरोध हटाइयो


त्रिशूली थ्री ‘ए’ को सुरुङको मुखमा पुग्न २० हजार घनमिटर अवरोध हटाइयो

काठमाडौं । भोटेकोसी क्षेत्रमा आएको बाढीपछि प्रभावित ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र पुग्ने उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ ।

सुरुङको मुख अर्थात् पोर्टल क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी ठूला ढुंगा विस्फोट गराएर हटाइएको छ । पाँच दिनमा ठूलो मात्रामा लेदो, बालुवा, ढुंगा तथा बाढीले बगाएर ल्याएका संरचनाका अवशेष हटाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिँदै १६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेशद्वारको निकास क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी ठूला ढुंगा हटाइसकिएको बताएका छन् ।

उनका अनुसार भदौ १३ गतेदेखि नियमित रूपमा दुईवटा एक्साभेटर परिचालन गरेर पाँच दिनसम्म निरन्तर काम गरिएको छ । यस अवधिमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकारसम्मका ठूला ढुंगा हटाइएको छ ।

ठूला ढुंगा हटाउन आवश्यकताअनुसार ब्रेकरको प्रयोग गर्नुका साथै विस्फोटक पदार्थ प्रयोग गरेर ढुंगा फुटाउने काम भइरहेको न्यौपानेले बताएका छन् । उद्धार तथा अवरोध हटाउने काम २४सै घण्टा सञ्चालन भइरहेको छ । हाल सुरुङको प्रवेशद्वारको माथिल्लो भागभन्दा करिब साढे दुई मिटर तलसम्मको ५० मिटर लामो क्षेत्र सफा गरिएको छ ।

सुरुङको कुल उचाइ करिब साढे पाँच मिटर रहेको छ । अब बाँकी करिब तीन मिटर गहिराइसम्म पहुँच मार्ग तथा पानी निकासको व्यवस्था तयार गर्नुपर्ने उद्धार टोलीको योजना छ । यो काम पूरा भएपछि सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु