१४ भदौ २०८३, आइतबार

रास्वपा सांसद आशिका तामाङ र वडाध्यक्षबीच झण्डै हात हालाहाल


रास्वपा सांसद आशिका तामाङ र वडाध्यक्षबीच झण्डै हात हालाहाल

काठमाडौं । धादिङकी प्रतिनिधिसभा सदस्य आशिका तामाङले तीन दिनसम्म किन राहत नबाँडेको भन्दै आक्रोश व्यक्त गरेपछि तनाव भएको छ । बाढीपछि तीन दिनसम्म राहत नबाँडेको भन्दै तामाङले स्थानीय जनप्रतिनिधिसँग आक्रोश व्यक्त गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

गल्छी गाउँपालिकामा राहत वितरणको विषयलाई लिएर सांसद तामाङ र वडाध्यक्षहरूबीच चर्काचर्की भएको हो । सांसद तामाङका शनिबार (हिजो) गल्छी गाउँपालिकाको कार्यालय पुग्दा विभिन्न संघ-संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुप्रिएको भए पनि बाढीपीडितले भने राहत पाउन नसकेको बताएकी छन् ।

उनका अनुसार आफूले राहत वितरणमा भएको ढिलाइबारे प्रश्न गरेपछि केही वडाध्यक्षहरू आक्रोशित हुँदै आफूसँग विवादमा उत्रिएका थिए। तामाङले आफूले बाढीपीडितले राहत नपाएको विषयमा जवाफ मागेको बताएकी छन् ।

गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालका अनुसार राहत वितरणको विषयमा छलफल भइरहेका बेला वडा नम्बर ६ का अध्यक्ष दीपक कार्की र सांसद तामाङबीच भनाभन भएको हो।

यता वडा नम्बर ६ का अध्यक्ष कार्कीले भने सांसद तामाङले स्थानीय जनप्रतिनिधिले गरिरहेको कामलाई बेवास्ता गर्दै आलोचना गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

राहत वितरणमा भएको ढिलाइ तथा विपद्को समयमा स्थानीय तह र जनप्रतिनिधिको भूमिकालाई लिएर भएको विवादले गल्छीमा बाढीपीडितको राहत व्यवस्थापनबारे थप प्रश्न उठाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !