चितवन । बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका-१ चितवन लीलाचोक मामाघर बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरी चादँबेला नगरपालिका-५ घर भई भरतपुर-२ पोखरा बसपार्क सुपारी टोल बस्ने ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
सामाजिक सञ्जालमा तीव्र आलोचना र सर्वसाधारणको आक्रोश बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले घट्नामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको हो।
विपद्को संवेदनशील घडीमा मानवीय संवेदनाविपरीत मृत शरीरबाट गहना चोरी गर्ने जघन्य कार्यमा संलग्न उनीहरूमाथि प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।









