काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण पुगेको ठुलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन गरिएको बताएका छन् । बाढीमा परी हालसम्म ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको पुष्टि गर्दै उनले मृतकप्रति श्रद्धाञ्जलि र पीडित परिवारमा समवेदना प्रकट गरे ।
नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढीको उद्धार गरिएको र घाइतेहरूको वीर तथा ट्रमा सेन्टरमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए । रसुवा, नुवाकोट, धादिङ र गोरखाका प्रभावित क्षेत्रमा औषधि, खाद्यान्न र अस्थायी बसोबासको प्रबन्ध मिलाउन सरकार अहोरात्र खटिएको प्रधानमन्त्रीको भनाइ छ ।









