१० भदौ २०८३, बुधबार

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की


नागरिक सुरक्षित

बागलुङ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी सुरक्षित भए मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षित गर्न तैनाथ हुने बताएका छन् । उनले प्रहरी र नागरिकको सहकार्यबाट मात्रै सभ्य तथा अपराधरहित समाज निर्माण गर्न सकिने बताए ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा निर्माण सम्पन्न भएका चार ब्यारेक तथा आवास भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै महानिरीक्षक कार्कीले समुदायको अपनत्व र साथबिना प्रहरी सफल हुन नसक्ने बताए । अपराध कम गर्न तथा अनुसन्धानमा नागरिकको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ थियो । दिनभर सुरक्षामा खटिएको प्रहरीलाई आराम गर्ने कक्षको बागलुङ सदरमुकाममै अभाव भएकामा भवन बनेपछि सहज भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयमा ९ करोड ७१ लाख रुपैयाँको लागतमा ब्यारेक, मेस, हिरासत कक्ष र वरिष्ठ प्रहरी अधिकृत आवास तथा कार्यालय प्रमुख निवास गरी चार भवन निर्माण गरिएका छन् । नागरिक प्रहरी कार्यालयमा आउँदा आफ्नै घर सम्झेर विश्वासका साथ आउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक कार्कीले प्रहरीलाई थप प्रविधिमैत्री र परिस्कृत बनाउन आवश्यक रहेको बताए । नेपालभर २८५ वटा प्रहरी युनिट जोखिमपूर्ण अवस्थामा छन् भने थप ९७० प्रहरी युनिटको माग भइरहेको उनले बताए ।

२०७९ देखि निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालयको उक्त भवन २०८३ जेठमा सम्पन्न भएकाले प्रहरीले भाडामा बस्नुपर्ने अवस्थाको अन्त्य भएको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !