काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले पेस गरेको छुट्टाछुट्टै पूरक रिट निवेदन सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको हो।
उक्त निवेदन दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । देउवा र खड्काले पूरक रिट निवेदन शुक्रबार नै सर्वोच्चमा पेस गरेका थिए । तर केही सच्याउनुपर्ने भएकाले त्यसदिन दुबै रिट निवेदन फिर्ता लगे।
सोमबार फेरि पेस भएकोमा अध्ययनपछि दर्ता भएको हो। केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो ।
देउवा र खड्काले निर्वाचन समितिले महाधिवेशन कार्यतालिका ल्याएकोले त्यो बदर गर्न माग गरेका छन् । गत पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन ।









