काठमाडौं। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारीलाई समयानुकूल थप सुदृढ गर्दै प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन आयोगको कार्यालयमा सोमबार पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूसँग भएको छलफलमा प्रमुख आयुक्त कार्कीले पूर्वपदाधिकारीको अनुभव र सुझावलाई समेत समेटेर आयोगको जिम्मेवारी पूरा गर्ने बताएका हुन् ।
छलफलका क्रममा निर्वाचन आयुक्त सगुनशम्शेर जबराले निर्वाचन व्यवस्थापनका क्षेत्रमा आयोगले पछिल्लो समय गरेका नवीनतम् काम तथा सुधारबारे पूर्वप्रमुख आयुक्त र आयुक्तहरूलाई जानकारी गराएका थिए ।
बैठकमा निर्वाचन व्यवस्थापनसँग सम्बन्धित कानुनी, प्रविधिगत तथा व्यवस्थापकीय सुधारलगायत समसामयिक विषयमा विस्तृत छलफल भएको आयोगका निमित्त सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
छलफलबाट निर्वाचन प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका विषयमा आयोगले पूर्वपदाधिकारीबाट सुझाव तथा पृष्ठपोषणसमेत प्राप्त गरेको उनले बताए । कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त, पूर्वआयुक्त तथा वर्तमान आयुक्तहरूको सहभागिता रहेको थियो ।








