२ भदौ २०८३, मंगलबार

मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण


प्रतिनिधिसभाको बैठक

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले शिक्षा, उद्योग, गाँजा खेतीसम्बन्धी कानुन, विपद् व्यवस्थापन, वैदेशिक रोजगारी, स्वास्थ्य तथा सुशासनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशीले गरिब तथा विपन्न परिवारका सन्ततिले सहज रूपमा विद्यालय शिक्षा प्राप्त गर्न सक्ने व्यवस्था सुनिश्चित हुने गरी शिक्षा ऐन निर्माण गर्नुपर्ने बताए । शिक्षकलाई आन्दोलनमा जानुपर्ने अवस्था अन्त्य गर्दै उचित सम्मान र सुविधा दिनुपर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका प्रकाशसिंह कार्कीले वर्षौंसम्म घाटामा उद्योग सञ्चालन गरेर जनताको कर खर्च गर्नु औद्योगिक समस्याको समाधान नभएको बताए । सम्भावना भएका उद्योगको व्यावसायिक मूल्याङ्कन गरी निजी क्षेत्रलाई पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले सहभागी गराउनुपर्ने उनले बताए । सरकारले उद्योग सञ्चालन गर्नेभन्दा लगानी र व्यवसायका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने उनको धारणा थियो ।

नेकपा (एमाले) का राजेन्द्रकुमार राईले बहुउपयोगी जडिबुटी गाँजाको सदुपयोगमार्फत आर्थिक समृद्धिको सम्भावना खोज्नुपर्ने बताए । नेपालमा गाँजा उत्पादनको सम्भावना हुँदाहुँदै पनि आवश्यक कानुन बन्न नसकेको भन्दै उनले गाँजा खेतीलाई विधिसम्मत बनाउन सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले मनसुनजन्य विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै रोल्पा, बागलुङ र जाजरकोटलगायत क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरे । देशभर भइरहेका विपद्का घटना, पूर्वतयारी, प्रतिकार्य, पुनःनिर्माण तथा पुनःस्थापनाबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो ।

श्रम संस्कृति पार्टीका हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही हुनुपर्ने बताउँदै सांसदहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरे । विकास निर्माणमा बाधक बनेका कानुनी झमेलाको अन्त्य गर्दै काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नुपर्ने उनको माग थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीमा गएका नेपालीले भोगिरहेका ठगी, सम्झौताअनुसार काम नपाउने तथा कानुनी झमेलालगायत समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताए ।

रास्वपाका टीका सङ्ग्रौलाले भ्रष्टाचार, बेथिति र कुशासन अन्त्यका लागि सरकारले थालेका प्रयासप्रति जनता उत्साहित रहेको बताए । नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले प्राकृतिक विपद्, ग्यास र रासायनिक मलको अभावबाट नागरिक प्रभावित भइरहँदा सरकारको भूमिकामाथि प्रश्न उठाए ।

एमालेकी भूमिका लिम्बूले तीनवटा प्रज्ञा प्रतिष्ठानमा गरिएको पदाधिकारी नियुक्ति पारदर्शी र योग्यताका आधारमा नभएको आरोप लगाउँदै सरकारले घोषणा गरेको ‘मेरिट’ प्रणाली कार्यान्वयन गर्न माग गरिन् ।

श्रम संस्कृति पार्टीका आरेन राईले स्वास्थ्य, शिक्षा र रोजगारीको अभावमा नेपाली विदेशिन बाध्य भएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीलाई सांस्कृतिक, धार्मिक तथा आर्थिक अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।

रास्वपाका ठाकुरसिंह थारुले कैलालीको टीकापुर घटना भएको ११ वर्ष बितिसक्दा पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएको भन्दै न्यायको प्रतीक्षामा रहेका थारु समुदायको समस्या समाधान गर्न माग गरे । कांग्रेसका विष्णुबहादुर खड्काले ग्यास अभावको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

रास्वपाकी क्रान्तिशिखा धितालले रोल्पामा सडक तथा दूरसञ्चार पूर्वाधार कमजोर रहेको भन्दै त्यसको सुधारमा सरकारको ध्यान जानुपर्ने बताइन् । ललिताकुमारीले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटना रोक्न कडा कानुनी व्यवस्था गर्न माग गरिन् ।

रास्वपाकी रिमा विश्वकर्माले १२२ दिनदेखि आन्दोलनरत दीपा नेपालीले उठाएको घर भाडामा हुने जातीय विभेदको विषय तत्काल सम्बोधन गर्न सरकारसँग माग गरिन् । उत्तमप्रसाद पौडेलले विदेशमा रहेका वंशजका नेपालीलाई नेपाल फर्कने, बस्ने तथा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

रास्वपाका गणेश धिमालले तराई–मधेसमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन माग गरे भने विश्वराज पोखरेलले नेपाल प्रहरी अस्पताललाई थप सुविधासम्पन्न बनाउँदै नेपाल प्रहरी मेडिकल कलेज स्थापनाका लागि आवश्यक सहयोग गर्न सरकारसँग आग्रह गरे ।

बोधनारायण श्रेष्ठले सरकारी इमेलको प्रयोगसम्बन्धी क्षमता अभिवृद्धि गर्दै जनप्रतिनिधि, शिक्षक तथा सुरक्षा निकायमा सरकारी इमेलको प्रयोग बढाउन र डेटा सुरक्षामा ध्यान दिन आग्रह गरे । दीपककुमार साहले वैदेशिक रोजगारीमा नेपाली नागरिकले भोगिरहेका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

गोविन्द पन्थीले कर्मचारीतन्त्रलाई त्रासमा नभई विश्वासमा लिएर काम गर्न सरकारलाई सुझाव दिए । समिना मियाले सिरहाको गोलबजारमा साउन १४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त घर, व्यवसाय, मस्जिद तथा मदरसा पुनःनिर्माणका लागि आर्थिक तथा प्रशासनिक सहजीकरण र सुरक्षा व्यवस्था मजबुत बनाउन माग गरिन् ।

रास्वपाकी करिश्मा कठरियाले टीकापुर घटनाका पीडितलाई न्याय तथा राज्यका निकायमा थारु समुदायको उचित प्रतिनिधित्वलगायत माग सम्बोधन नभएसम्म सशक्त प्रतिपक्षको आवाज उठाइरहने बताइन् ।

रास्वपाकी एलिजा गुरुङले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालगायत हिमाली क्षेत्रका नागरिकले भोग्दै आएको ‘सीमा पास’ तथा खाद्यान्न आपूर्तिको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सत्तापक्ष र विपक्षीबीच सवाल–जवाफ

बैठकमा एमालेका सांसद साजिदा खातुन सिद्धिकी र रिङ्गला यादवले सत्तारुढ दलका सांसदले विपक्षीमाथि ‘गुण्डाराज चलाएको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । यस विषयलाई लिएर सत्तापक्ष र विपक्षी सांसदबीच केहीबेर सवाल–जवाफसमेत भएको थियो ।

बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख रुवी कुमारीले पक्ष वा विपक्षमा नलागी सदनको कामकारबाहीलाई व्यवस्थित रूपमा अघि बढाउन सबै सांसदलाई सहयोग गर्न आग्रह गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !