काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गरेर अनामनगरदरबार राख्नुपर्ने बताएका छन् ।
गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आज ललितपुरमा आयोजना गरेको ‘नेसनल गभर्नेन्स समिट’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए तापनि सिंहदरबारको नाम यथावत रहेकोमा प्रश्न उठाए ।
उनले नेपालमा सिंह नपाइने उल्लेख गर्दै ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि तर्क गरे । सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र हाउभाउमा समेत सुधारको आवश्यकता रहेको औंल्याए । प्रशासनिक केन्द्रको संरचना र भाषामा विद्यमान परम्परागत शैलीलाई चिर्नुपर्नेमा उनको जोड छ ।
उनले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक रहेको बताए । उनले शासनसत्ताको स्रोत नागरिक भएकाले आम नागरिकलाई केन्द्रविन्दुमा राखेर राज्य सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
“पहुँचले जे पनि हुने अवस्थाले सुशासन कायम हुन सक्दैन,” उनले भने, “सुशासन कायम गर्ने जिम्मेवारी बोकेका पदाधिकारी र निकाय अनुशासनमा रहेनन् भने सुशासन कायम हुन सक्दैन ।”
उनले विधिको शासन र अनुशासनका आधारमा काम गर्न कानुन निर्माणको जिम्मेवारीमा रहेका जनप्रतिनिधिले ध्यान दिनुपर्ने तथा शासनसत्तामा रहेकालाई जिम्मेवार र जवाफदेही बनाउन नागरिक तहबाटै खबरदारी आवश्यक रहेको बताए ।









