२४ श्रावण २०८३, आइतबार

बढ्दै ग्यासको आयात, हट्दै अभाव


ग्यासको आयात

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव विस्तारै हट्दै गएको छ। नेपाल आयल निगमले भारतबाट ग्यासको आयात बढाउँदै आपूर्ति तथा वितरण प्रणालीलाई चुस्त बनाएपछि बजारमा देखिएको असहजता कम हुँदै गएको जनाएको छ।

गत असार ३१ गतेदेखि १४.२ किलोग्राम क्षमताको पूर्ण सिलिन्डर बिक्री वितरण पुनः सुरु गरिएपछि बजारमा एक्कासी माग बढ्दा केही दिन ग्यासको अभाव देखिएको थियो । त्यसअघि निगमले पश्चिम एसियामा विकसित परिस्थितिलाई ध्यानमा राख्दै गत फागुन २९ गतेदेखि ७.१ किलोग्राम ग्यास भरिएको आधा सिलिन्डर बिक्री गर्ने व्यवस्था गरेको थियो।

पूर्ण सिलिन्डर बिक्री सुरु गरेपछि उपभोक्ताको माग एकैपटक बढेकाले आपूर्ति व्यवस्थापनमा केही दबाब परेको निगमको भनाइ छ। तर पछिल्लो समय भारतबाट आयात हुने ग्यासको परिमाण निरन्तर बढेकाले बजारमा आपूर्ति सहज हुँदै गएको निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले बताए।

‘उपभोक्तालाई मागअनुसारको ग्यास उपलब्ध गराउने उद्देश्यले आपूर्ति बढाइएको छ। यसका लागि इन्डियन आयल कर्पोरेसनले पनि सहयोग गरिरहेको छ,’ उनले भने।

उनका अनुसार अहिले पनि इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट दैनिक १०० भन्दा बढी बुलेट ग्यास लोड भएर नेपाल भित्रिरहेका छन्। ७.१ किलोग्रामबाट १४.२ किलोग्रामको पूर्ण सिलिन्डरमा एकैपटक ‘सिफ्ट’ हुँदा बजारमा केही समय समस्या देखिएको भए पनि बढीमा एक साताभित्र बिक्री वितरण सामान्य अवस्थामा आउने उनले बताए।

‘अहिले आयातको अवस्था हेर्दा आपूर्ति अत्यन्त राम्रो परिमाणमा भइरहेको छ। यही दर कायम रहे साउनमा करिब ५४ देखि ५५ हजार मेट्रिक टन ग्यास आयात हुने देखिन्छ,’ उपाध्यायले भने।

चार महिनामा ५० हजार मेट्रिक टन कम आयात

आधा सिलिन्डर बिक्री व्यवस्था लागु भएपछि पछिल्ला चार महिनामा ग्यासको आयातमा उल्लेख्य कमी आएको थियो। नेपालमा सामान्य अवस्थामा मासिक करिब ४६ हजार मेट्रिक टन एलपी ग्यास खपत हुँदै आएको छ।

तर फागुन २९ गतेदेखि असार ३१ गतेसम्मको चार महिनाको अवधिमा अघिल्लो नियमित खपतको तुलनामा करिब ५० हजार मेट्रिक टन कम ग्यास आयात भएको निगमको तथ्यांक छ।

आधा सिलिन्डर बिक्री गर्दा तत्कालीन अभाव व्यवस्थापन गर्न सहयोग पुगे पनि उपभोक्ताले पुनः १४.२ किलोग्रामकै सिलिन्डर पाउने अपेक्षामा सिलिन्डर ‘होल्ड’ गर्न थालेपछि पूर्ण सिलिन्डर बिक्री सुरु गर्दा बजारमा माग एकैपटक बढेको उद्योगीहरूको भनाइ छ।

निगमका निर्देशक उपाध्यायले पनि उपभोक्ताले ७.१ किलोग्रामको आधा सिलिन्डरभन्दा १४.२ किलोग्रामको पूर्ण सिलिन्डर नै बढी रुचाउने अवस्था देखिएको बताए।

एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार पछिल्ला चार महिनामा आधा सिलिन्डर बिक्री गरिँदा आयात केही घटेको भए पनि अहिले पूर्ण सिलिन्डर बिक्री सुरु भएपछि आयातको परिमाण निरन्तर बढिरहेको छ। त्यसकै कारण बजारमा ग्यासको बिक्री वितरण पनि क्रमशः सहज बन्दै गएको उनले बताए।

उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गर्दै अत्यावश्यक पर्ने उपभोक्तालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

२२ दिनमै झन्डै ४० हजार मेट्रिक टन आयात

ग्यासको आयात पछिल्लो समय तीव्र गतिमा बढेको निगमको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्षको साउन महिनामा ४४ हजार ३१८ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो।

तर चालु आर्थिक वर्षको साउनमा पहिलो २२ दिनमै ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भइसकेको निगमले जनाएको छ। यही दर कायम रहे चालु साउनमा करिब ५४ देखि ५५ हजार मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। यसले गत वर्षको साउनको तुलनामा चालु वर्षको सुरुवाती महिनामै ग्यास आयात उल्लेख्य रूपमा बढ्ने देखाएको छ।

ग्यासको आपूर्ति सहज बनाउन सरकारले पनि आगामी ठूला चाडपर्वलाई लक्षित गर्दै भारतसँग थप ग्यास आयातको कोटा बढाउन कूटनीतिक पहल गरिरहेको छ। चाडपर्वका बेला खाना पकाउने ग्यासको माग उच्च हुने भएकाले त्यसअघि नै पर्याप्त आपूर्ति सुनिश्चित गर्न सरकारले भारतसँग तीन महिनाका लागि आयात कोटा बढाउन पहल गरिरहेको हो।

नेपालमा हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगसँग कुल १० हजार १६६ मेट्रिक टन ग्यास भण्डारण क्षमता रहेको छ। त्यस्तै, उद्योगहरूको दैनिक ग्यास फिलिङ क्षमता करिब १ करोड ७५ लाख सिलिन्डर रहेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !