काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय र चिनियाँ राजदूत भेट्दैछन् । प्रधानमन्त्री शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट पछि हट्दै भोलि सोमबारदेखि छुट्टाछुट्टै भेट गर्ने भएका हुन् ।
प्रधानमन्त्री शाहले भोलि सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेट गर्दैछन् भने मंगलबार कार्यवाहक अमेरिकी राजदूत (चार्ज डी’ अफेयर्स) स्कट अर्बमसँग भेटवार्ता गर्ने तय भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार दुवै छिमेकी मुलुकका राजदूतसँग भेट गर्ने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नेछन् भने अपराह्न ३ बजे चिनियाँ राजदूत चाङ माओमिङसँग छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री नियुक्त भएपछि शाहले गत चैत २५ गते नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट गरेका थिए । उक्त भेटमा कूटनीतिज्ञहरूले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
यसअघि प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत भेट नगर्ने धारणा राखेका थिए। तर, गत असार २३ गते उनले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै भेटवार्ता गरेका थिए।









