म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले नेपालको समृद्धिका लागि सरकारले अनुसन्धान, नवप्रर्वतन र आविस्वकारलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।
धवलागिरी गाउँपालिका समाजले आज काठमाडौँमा आयोजना गरेको समृद्ध म्याग्दीमा जनप्रतिनिधिहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले नेपालमा आवश्यक औजार, उपकरण, सामग्री र वस्तुको उत्पादन गरी रोजगारी सिर्जना तथा आयात घटाउन अनुसन्धानमा जोड दिइएको बताए ।
“ओझेलमा परेको अनुसन्धान र आविस्कारको क्षेत्रमा वर्तमान सरकारले प्राथमिकता दिएको छ”, म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उनले भने, “देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने र दक्ष जनशक्तिलाई अवसरका लागि पलायन हुन नदिने गरी मन्त्रालयले कार्यक्रम बनाएको छ ।”
मन्त्री पुनका साथै धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौँमा बसोबास गर्ने म्याग्दीवासीहरूबीच म्याग्दीलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । कृषिको आधुनिकीकरण, जलविद्युत्, पर्यटन, पशुपालनको माध्यमबाट म्याग्दीलाई समृद्ध बनाउन सकिने उनको भनाइ थियो ।
म्याग्दीमा प्रमुख सामाजिक समस्याको रुपमा रहेको मेलाजात्रालाई व्यवस्थित नगरेसम्म शिक्षा क्षेत्रको सुधार हुन् नसक्ने मन्त्री पुनले बताए । “टोलटोलमा लगातार मेलाजात्रा लगाउँदा किशोरकिशोरीहरूको पढाइ नराम्ररी बिग्रेको छ”, उनले भने, “नामका लागि विदेशबाट मेलाका लागि लाखौँ रकम प्रायोजन गर्ने र गाउँमा हप्तौँ मेला लगाउने चलन हटाउन सकेमा म्याग्दीको शिक्षा र समाजको सुधार हुन्छ ।”
सङ्घीय सरकारले यसवर्ष धवलागिरी गाउँपालिकाको मुदीदेखि गुर्जा हुँदै ढोरपाटनको जलजला र अन्नपूर्ण गाउँपालिकाको दोवादेखि सोवाङ धुरी हुँदै रघुगङ्गा गाउँपालिकाको चिमखोला जोड्ने दुई वटा नयाँ पदमार्ग सञ्चालनमा ल्याउने बताए ।
बेनी–दरवाङ सडकको फापरखेत र बेनी–जोमसोम सडकको सिरुवारी पहिरो नियन्त्रणको काम वर्खा सकिने वित्तिकै सुरु हुने मन्त्री पुनले जानकारी गराए । सङ्घीय सरकारले म्याग्दीमा रणतीनिक महत्वका सडक आयोजनालाई प्राथमिकता दिने बताए ।
पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा दिवङ्गत भएका म्याग्दीमा जन्मिएका पर्वतरोही निर्मल पुर्जासहितका पर्वतारोहीहरूको सम्मानमा सरकारले उचित निर्णय लिने मन्त्री पुनको भनाइ थियो ।
धवलागिरीका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपूर्णका अध्यक्ष भारतकुमार पुन लगायतले म्याग्दीको सम्भावना, आवश्यकता भएका कामको विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए ।









