काठमाडौं । विश्वविख्यात पर्वतारोही निर्मल पुर्जासँग पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शवयात्रा सहित अन्त्येष्टि गरिएको छ । उनको काठमाडौंको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।
ब्रोड पिकको हिम पहिरोमा गुरुङ, निर्मल पुर्जा लगायत ६ नेपाली पर्वतारोहीसहित १० जनाको ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये गुरुङको शव हिजो विहीबार काठमाडौँ ल्याइएको थियो ।
अन्त्येष्टि अघि उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । अन्तिम श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले गुरुङको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।
श्रद्धाञ्जली अर्पण कार्यक्रममा गृहमन्त्री गुरुङसंगै पूर्व उपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायत सहभागी भए ।
गुरुङ नेपालका अनुभवी र भरपर्दा पर्वतारोहण गाइडमध्ये एक मानिन्थे। उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण १० पटक गरेका थिए भने ८ हजार मिटरभन्दा अग्ला हिमालका २८ वटा सफल आरोहण पूरा गरेका थिए।













