२१ श्रावण २०८३, बिहिबार

रगतमाथि राजनीति नगर्न जेनजी अभियन्तालाई गृहमन्त्री गुरुङको चेतावनी


सुधन गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले रगतमाथि राजनीति नगर्न जेनजी अभियन्ताहरूलाई चेतावनी दिएका छन्। आज बिहीबार ‘घाइते जेनजी नेपाल’को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले तीन–चार जना जेनजीहरूले आफूहरूको रगत र बलिदानमाथि राजनीति गर्न खोजेको बताएका हुन्।

उनले भने, ‘हाम्रो घाउमा तीन–चार जना यो राजनीति गर्न खोज्ने जेन–जीहरू छन् नि, चेतावनी दिन चाहन्छु, हाम्रो रगतमाथि, हाम्रो बलिदानमाथि जो आन्दोलनमै नगएको मान्छेहरू छ, रोडमा उभिन उहाँहरूले सुहाउँदैन।’

गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको बताएका छन् । गृहमन्त्री गुरुङले त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कुराकानी भइरहेको बताए ।

“अझै पनि हाम्रा भाइबहिनीहरु उपचारको प्रक्रियामा हुनुहुन्छ, उहाँहरुलाई सरकारले सक्दो सहयोग गर्नेछ”, गृहमन्त्री गुरुङले भने । आफूले युवापुस्ताको प्रतिनिधित्व गरिरहेको जेनजी युवालाई अपहेलित गर्ने कार्य सैह्य नहुने स्पष्ट पारे । 

आफू देश र जनताको भलो गर्ने उद्देश्यले राजनीतिमा आएको उल्लेख गर्दै उनले भने, “जे गर्नुछ राम्रो गर्नुछ, त्योबाहेक न त मलाई कुर्सीको लोभ छ, न त मलाई शक्तिको घमण्ड छ ।”

यसैबीच, भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय परिसरमा स्थापना गरिएकोे सो कार्यालयको आज उद्घाटन गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !