काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धात्मक प्रक्रियाबाट तीन जनाको नाम छनोट गरी सिफारिस गरेको हो ।
मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार सिफारिसमा पर्ने उम्मेदवारहरूमा कौशल केसी, सिए नागेन्द्र साह र सञ्जीवकुमार देव रहेका छन् । सिफारिस समितिको साउन १७ गते बसेको बैठकले सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूलाई वर्णानुक्रमका आधारमा सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल आयल निगमको कार्यकारी निर्देशक पदपूर्तिका लागि मन्त्रालयले गत असार २ गते सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । सिफारिस गरिएका यी तीन जनामध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई आगामी कार्यकालका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्नेछ ।













