काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र सरकारबारे समीक्षाको विन्दुमा पार्टी नपुगेको बताएका छन् । रास्वपा सभापति लामिछानेले अहिले सद्भाव कायम राख्न सबैले भूमिका खेल्नु पर्ने समय भएकाले चर्का कुरा नगर्न अपिल गरेका छन् ।
बुधबार बिहान सर्वदलीय बैठकपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिरहेको जिकिर गरे । लामिछानेले प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेकाले अहिले नै समीक्षाको अवस्थामा पार्टी नपुगेको बताए ।
”प्रधानमन्त्री र सरकारले आफ्नो काम गरिरहेको छ । अहिले नै हामी समीक्षाको विन्दुमा पुगेका छैनौँ । उहाँले आफ्नो काम गर्नुहुनेछ भन्ने विश्वास छ,” उनले भनेका छन् ।
देवानगञ्च प्रकरणपछि आयोजित सर्वदलीय बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएका थिए । घटनाको प्रारम्भिक चरणमै सरकारबारे निष्कर्ष ननिकाल्न पनि उनले अनुरोध गरेका छन् ।
हिजोको अवस्थाका आन्दोलन र अहिलेको आन्दोलन फरक भएको उल्लेख गर्दै उनले नागरिकको ज्यान गएको घटनामा सबै गम्भीर हुनुपर्ने बताए । सरकारले आफ्नो दायित्व निर्वाह गर्ने उनको जिकिर छ ।













