बिर्तामोड । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । गत असार २२ गते उनले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार निवेदन दिएको महिना दिनअघि उनीमाथि कुटपिट भएको जाहेरीमा उल्लेख छ । दर्जीले निवेदनमा अंकित प्रधान र शनिश्चरेका शुक्रे भन्ने व्यक्तिले आफूलाई ‘चोर-चोर’ भन्दै कुटपिट गरेको, भिडियो बनाएर सामाजिक सञ्जालमा राखेको र हटाइदिन आग्रह गर्दा पनि धम्क्याउँदै आएको उल्लेख गरेका छन्।
बिर्तामोडको महानन्द चोकमा खाजा खाने क्रममा एक हजार रुपैयाँ हराएको विषयलाई लिएर विवाद सुरु भएको र त्यसको केही दिनपछि नजिकैको देवीबस्ती गेट नजिक स्कुटरमा पेट्रोल हालिरहेका बेला आफूलाई कुटपिट गरिएको दाबी उनले गरेका छन्।
आइतबार साँझ उनीमाथिको कुटपिटको भिडियो टिकटकमा भाइरल भएको थियो । भिडियोमा एक युवकले दर्जीलाई गालामा थप्पड हानेको दृश्य देखिन्छ। भिडियो भाइरल भएसँगै घटनाबारे सार्वजनिक चासो बढेको छ।
प्रहरीले जाहेरीका आधारमा घटनामा संलग्न भनिएका व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले अंकितलाई सम्पर्क गरिसकेको छ। शुक्रेचाहिँ भारततिर फरार रहेको प्रहरीले जनाएको छ ।













