११ श्रावण २०८३, सोमबार

सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन गरेपछि सेना परिचालन


सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन गरेपछि सेना परिचालन

विराटनगर । सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लङ्घन गरेपछि सेना परिचालन गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा निषेधाज्ञा र कर्फ्यु आदेश उल्लङ्घन गरी प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि नेपाली सेना परिचालन गरिएको हो ।

हिजो आइतबार राति दुई समूहवीचको हिंसात्मक झडपमा सुरक्षाकर्मीको गोली लागी एक २४ वर्षीय युवकको मृत्यु र नौ जना घाइते भएपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।

कर्फ्युका बाबजुद सोमबार बिहान करिब हजारौँको सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्दै तोडफोड र आगजनी गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । प्रदर्शनकारीले कप्तानगन्ज क्षेत्रमा पाँचवटा पसलमा तोडफोड गरी आगजनी गर्नुका साथै पूर्व पश्चिम लोकमार्गसमेत अवरुद्ध पारेका छन्।

बढ्दो भिड नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयास असफल भएपछि बख्तरबन्द गाडीसहित नेपाली सेना परिचालन गरिएको र हाल सुरक्षा उपस्थिति सुदृढ गरी स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !